काठमाडौं । पाँचतारे रिसोर्ट निर्माणका लागि स्वीकृत ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आरोपमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित ७ जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो। मुद्दामा तत्कालीन सीईओ शेरचन, चिफ बिजनेस अफिसर रश्मी पन्त, रिकभरी म्यानेजर नन्दराज जोशी, मणिग्राम शाखा प्रबन्धक सन्तोष ज्ञवाली र ऋण अधिकृत राजेन्द्र श्रेष्ठलगायतलाई प्रतिवादी बनाइएको छ।
अनुसन्धानअनुसार रूपन्देहीस्थित ‘एसियन भिलेज रिसोर्ट प्रालि.’ का नाममा स्वीकृत ४८ करोड रुपैयाँ कर्जा रिसोर्ट निर्माणमा प्रयोग नभई पुराना ऋण तिर्न, घरजग्गा खरिद गर्न, बीमा प्रिमियम भुक्तानी गर्न तथा संस्थापक सेयर खरिद गर्न प्रयोग गरिएको खुलेको छ।
रिसोर्ट निर्माणका लागि ३१ करोड र १७ करोड गरी दुई चरणमा निकासा गरिएको कर्जा रकम प्रस्तावित परियोजनामा खर्च नभई सम्बन्धित व्यक्तिहरूका अन्य व्यवसायिक दायित्व व्यवस्थापनमा प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ।
सीआईबीको अनुसन्धानले शशिधर शर्मासम्बद्ध लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेन्टर प्रालि. र अरुण फुड्स प्रालिको पुरानो ऋण तथा ब्याज भुक्तानी गर्नसमेत उक्त कर्जा प्रयोग भएको देखाएको छ।
अनुसन्धानमा ४ करोड ६१ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा धितोमा राखेर ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको तथा बाँकी करिब १० बिघा जग्गा बैंकको नाममा दृष्टिबन्धकसमेत नगरिएको पाइएको छ।
सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूसँग ४८ करोड रुपैयाँ बराबरको बिगो, सोही बराबर जरिवाना र कैद सजायको माग गरेको छ। फरार रहेका तत्कालीन सीईओ अशोक शेरचनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ।
काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!