जेठ १९ : बुवालाई सम्झँदै

जेठ १९ : बुवालाई सम्झँदै

आज फेरि जेठ उन्नाइस आयो,
समयको पात्रोमा एउटा मिति मात्रै होइन,
मेरो जीवनको सबैभन्दा ठूलो शून्य बोकेर आयो।
त्यही दिन थियो बुवा,
जब तपाईंले मेरो सानो हात छोड्नुभयो,
र सात–आठ वर्षको कलिलो उमेरमै
मलाई टुहुरो बनाएर टाढा जानुभयो।
म कक्षा चारको विद्यार्थी थिएँ,
अझै अक्षर चिन्न सिक्दै थिएँ,
तर नियतिले मलाई
दुःखका किताब पढ्न बाध्य बनायो।
त्यस दिनदेखि जिन्दगीले
मलाई पाठ्यपुस्तकभन्दा धेरै
संघर्षका अध्यायहरू पढायो।
कतिपय रातहरू
तपाईंको यादले निद्रा चोर्थ्यो,
कतिपय बिहानहरू
तपाईंको अभावले मन भतभती पोल्थ्यो।
कहिले एक्लै बसेर रुँदै सोचेँ,
"यदि बुवा हुनुहुन्थ्यो भने..."
तर त्यो वाक्य कहिल्यै पूरा भएन,
आँसुमा नै हराइरह्यो।
तपाईं त जानुभयो बुवा,
तर तपाईंका शब्दहरू गएनन्।
सानैमा सिकाउनुभएको अनुशासन,
मेहनत, इमानदारी र जिम्मेवारीका पाठहरू
मेरो यात्राका दीपक बने।
म लड्दै उठेँ,
हार्दै फेरि जुटेँ,
र तपाईंले देखाउनुभएको बाटो
कहिल्यै छोडिनँ।
हेर्नुहोस् बुवा,
त्यो कक्षा चारको बालक
आज मास्टर डिग्रीसम्म पुग्यो।
ब्याचलर र मास्टर तहका
किताबहरू पनि लेख्यो।
सानोतिनो अधिकृतको जिम्मेवारी सम्हाल्यो।
तपाईंले देख्न चाहनुभएको सपना
मैले पूरा गर्ने प्रयास गरिरहेँ।
तपाईं भन्नुहुन्थ्यो—
"मेरा छोराहरू कहिले सरकारी जागिरे होलान्?"
बुवा, त्यो सपना पनि पूरा भयो।
तर विडम्बना !
सपना पूरा हुँदा
सपनादेख्ने आँखा यस संसारमा थिएनन्।
मेरो सफलताको खबर सुन्ने कान थिएनन्,
मेरो खुसी देखेर मुस्कुराउने अनुहार थिएन।
यही पीडाले कहिलेकाहीँ
मनलाई चिरा–चिरा पारिदिन्छ।
किनकि उपलब्धिको शिखरमा उभिँदा पनि
तपाईंको अनुपस्थितिले
मलाई अधुरो बनाइदिन्छ।
बुवा,
तपाईंले सानैमा भन्नुभएको कुरा
आज झन् गहिरो गरी बुझ्दैछु—
"यो जिन्दगीमा कसैलाई खुसी बनाउन सकिँदैन।"
साँचै रहेछ,
खुसी बाँड्न खोजिन्छ,
तर खुसी त भित्रै उम्रने फूल रहेछ।
मैले आमालाई सधैं सम्मान दिएँ,
उहाँको मुहारमा मुस्कान राख्ने प्रयास गरेँ।
आज संसारमा यदि कोही
मेरो कारण खुसी हुनुहुन्छ भने
सायद आमा नै हुनुहुन्छ।
तर त्यसबाहेक,
खुसी भन्ने शब्द
मानिसहरूले पछ्याइरहने एउटा सपना जस्तै रहेछ।
तैपनि बुवा,
म निराश छैन।
किनकि तपाईंले दिएको जिम्मेवारी
आज पनि काँधमा बोकेको छु।
तपाईंले रोप्नुभएको संस्कारको बिरुवा
आज पनि हरियो छ।
आज जेठ उन्नाइसको यस दिनमा,
तपाईंको तस्वीरअगाडि उभिएर
यति मात्र भन्न मन छ—
"बुवा,
तपाईं शरीरले टाढा हुनुभयो,
तर मेरो हरेक सफलतामा तपाईं हुनुहुन्छ।
मेरो हरेक संघर्षमा तपाईं हुनुहुन्छ।
मेरो हरेक आँसुमा,
मेरो हरेक मुस्कानमा,
मेरो हरेक श्वासमा
तपाईं हुनुहुन्छ।"
समयले धेरै कुरा बदल्यो,
तर एउटा कुरा कहिल्यै बदल्न सकेन—
छोराको मनमा रहेको
बुवाप्रतिको अथाह माया।
आज पनि तपाईंलाई सम्झँदा
आँखा रसाउँछन्,
मन भरिन्छ,
र हृदयको गहिराइबाट एउटै आवाज आउँछ—
"बुवा,
तपाईंलाई बिर्सिनु भनेको
आफ्नै अस्तित्व बिर्सिनु हो।
जबसम्म यो श्वास चलिरहन्छ,
तपाईं मेरो सम्झनामा
सधैं जीवित रहिरहनुहुनेछ।"

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा
1 हप्ता अगाडि

काठमाडौँ । लोकतान्त्रिक अधिकारहरूको पूर्ण उपभोग गर्न नागरिकहरू बढी आकर्षित हुन्छन् । राजनीतिक प्रणाल ...

छुटाउनुभयो कि ?

TOP