संकटको कमाण्डदेखि शान्तिपूर्ण निर्वाचनसम्म : आईजीपी कार्कीमाथि आरोप कि अन्याय ?

संकटको कमाण्डदेखि शान्तिपूर्ण निर्वाचनसम्म : आईजीपी कार्कीमाथि आरोप कि अन्याय ?

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्की माथि जेनजेड आन्दोलनसँग जोडिएका घटनालाई लिएर आलोचना र आरोप तीव्र बनेका छन्। तर सुरक्षा स्रोत र प्रहरी वृत्तमा भने तत्कालीन परिस्थिति, कमाण्ड संरचना र त्यसपछिको नेतृत्व भूमिकालाई बेवास्ता गरेर वर्तमान नेतृत्वमाथि मात्र दोष थोपर्नु न्यायोचित नहुने तर्क बलियो बन्दै गएको छ।

सुरक्षा स्रोतका अनुसार भदौ २३ गतेको घटनामा तत्कालीन एआईजी कार्की उपत्यका प्रहरी कार्यालयको प्रत्यक्ष कमाण्डमा थिएनन्। उनी भदौ २४ गते तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ को मौखिक निर्देशनपछि मात्रै जिम्मेवारी सम्हाल्न परिचालित भएका थिए। स्रोतका अनुसार संवेदनशील र चुनौतीपूर्ण अवस्थाबीच अन्य उच्च अधिकारीहरू कमाण्ड लिन हिच्किचाइरहेका बेला कार्कीले जिम्मेवारी स्वीकार गरेका थिए।

त्यतिबेला आन्दोलन उत्कर्षमा पुगेको थियो। देशभर आक्रोश, असन्तुष्टि र अस्थिरताको वातावरण सिर्जना भएको अवस्थामा कार्कीले प्रहरीलाई “नागरिकमाथि न्यूनतम बल प्रयोग गर्ने, संरचना तथा हतियार सुरक्षित राख्ने” रणनीति अपनाउन निर्देशन दिएको विभिन्न सार्वजनिक बहसमा उल्लेख हुँदै आएको छ।

आन्दोलनपछि प्रहरी संगठन दबाब र अविश्वासको घेरामा पुगेको थियो। प्रहरी संरचनामाथि आक्रमण, सरकारी सम्पत्तिमा क्षति तथा जवानहरूको मनोबल कमजोर बनेको अवस्थाबीच आईजीपी बनेपछि कार्कीले संगठन पुनर्जीवन अभियान अघि बढाएको प्रहरी वृत्तको दाबी छ।जवानहरूको मनोबल उकास्ने, संगठनलाई एकताबद्ध बनाउने तथा सेवा–केन्द्रित प्रहरी संस्कार विकास गर्ने प्रयास उनको नेतृत्वमा भएको चर्चा हुँदै आएको छ।
यसबीच राजनीतिक संक्रमण र अस्थिरताबीच सम्पन्न २०८२ फागुन २१ को निर्वाचनलाई तुलनात्मक रूपमा नेपालको इतिहासकै शान्तिपूर्ण निर्वाचनमध्ये एक मानिएको छ। सुरक्षा निकायबीच प्रभावकारी समन्वय, रणनीतिक सुधार र अनुशासित परिचालनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन भूमिका खेलेको विश्लेषण गरिएको छ।

सुरक्षा विश्लेषकहरू भन्छन्— आन्दोलन वा मानवीय क्षतिका घटनाको निष्पक्ष अनुसन्धान आवश्यक भए पनि तत्कालीन परिस्थिति, कमाण्ड संरचना र त्यसपछिका सुधारात्मक भूमिकालाई बेवास्ता गरेर एउटै व्यक्तिमाथि सम्पूर्ण दोष थोपर्ने प्रवृत्तिले संगठनको मनोबल कमजोर पार्न सक्छ। उनीहरूका अनुसार संकटपछि संगठनलाई पुनः उभ्याउने नेतृत्वको भूमिकालाई पनि वस्तुनिष्ठ मूल्यांकन गरिनु आवश्यक छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP