सार्वजनिक जग्गामाथि डोजर : टोखाको कडा कदम, प्रमुख प्रशासकीय अधिकृत भन्छन्– “कानुनभन्दा माथि कोही छैन”

सार्वजनिक जग्गामाथि डोजर : टोखाको कडा कदम, प्रमुख प्रशासकीय अधिकृत भन्छन्– “कानुनभन्दा माथि कोही छैन”

काठमाडौं। टोखा नगरपालिका ले सार्वजनिक तथा अतिक्रमित जग्गा संरक्षण अभियानलाई तीव्र बनाउँदै आज बिहानै वडा नम्बर ६ र ७ क्षेत्रमा डोजर अभियान सञ्चालन गरेको छ। लामो समयदेखि ओगटेर संरचना निर्माण गरी उपभोग गर्दै आएको सार्वजनिक जग्गा खाली गराउने उद्देश्यसहित नगरपालिका टोली मैदानमा उत्रिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईको नेतृत्वमा गएको टोलीले अतिक्रमित क्षेत्र क्लियर गरेको हो। अभियानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, नगर प्रहरी, नेपाल प्रहरी तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।

सार्वजनिक जग्गा ओगटेर बस्दै आएका स्थानीयले समेत नगरपालिकाको अभियानप्रति सहयोग जनाउँदै कानुनको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जसले अभियानलाई थप सहज र प्रभावकारी बनाएको स्थानीयले बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै भने, “सार्वजनिक जग्गा संरक्षण गर्नु नगरपालिकाको कानुनी र नैतिक जिम्मेवारी हो।
 कानुनभन्दा माथि कोही छैन। सार्वजनिक सम्पत्ति जोगाउने अभियान आगामी दिनमा पनि निरन्तर अघि बढ्नेछ।”

नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अन्तर्गत अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। पछिल्ला दिनमा सार्वजनिक सम्पत्तिमाथि बढ्दो अतिक्रमणलाई नियन्त्रण गर्न स्थानीय सरकार थप कडा रूपमा प्रस्तुत हुन थालेको देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP