काठमाडौं।आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। यस वर्ष परीक्षा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ निर्देशिका लागू गरिएको छ, जसले अनियमितता न्यून गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा परीक्षा सुरु भएको छ।
यस वर्ष चैत २९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्। सहभागीमध्ये छात्राको सङ्ख्या बढी छ — २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जनाले परीक्षा दिइरहेका छन्।
परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ भने माध्यमिक तह अध्यापन हुने ११ हजार ३७९ विद्यालयका विद्यार्थी यसमा सहभागी छन्। प्रश्नपत्र सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमार्फत सम्बन्धित केन्द्रमा पठाइसकिएको बोर्डले जनाएको छ।
सुरक्षाका दृष्टिले प्रत्येक परीक्षा केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र थप दुई कर्मचारीको व्यवस्था गरिएको छ।
यस वर्षको मुख्य विशेषता परीक्षा सकिएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्ने लक्ष्य हो। नयाँ व्यवस्थाअनुसार ‘मार्कस्लिप प्रिन्ट’ गरी ट्याबमा इन्ट्री गरेर सिलबन्दी खाममा सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्नेछ।
उत्तरपुस्तिका व्यवस्थापनमा पनि कडाइ गरिएको छ। परीक्षा केन्द्रले प्राप्त उत्तरपुस्तिकालाई तोकिएको ढाँचामा लगत राखेर सिलबन्दी गरी विषय र केन्द्र उल्लेखसहित परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ। परीक्षक र सम्परीक्षकलाई सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी खटाइनेछ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ अनुसार परीक्षकहरू परीक्षा समाप्त हुने समयमै परीक्षण केन्द्रमा पुगिसक्नुपर्नेछ। परीक्षण केन्द्रमा नै बसेर मूल्यांकन गर्नुपर्ने, सिसिटिभी जडित सुरक्षित कक्षमा परीक्षण गर्ने र उत्तरपुस्तिका बाहिर लैजान नपाइने व्यवस्था गरिएको छ।
यसका साथै मोबाइल लगायत विद्युतीय उपकरण प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। तोकिएको योग्यता नपुगेका शिक्षकबाट परीक्षण गराउने, उत्तरपुस्तिका हराउने वा मिसिने जस्ता गतिविधि रोक्न विशेष प्रबन्ध गरिएको छ। परीक्षणमा लापरवाही गरे पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षक सूचीबाट हटाउने तथा गम्भीर अवस्थामा कानुनी कारबाही गर्ने व्यवस्था गरिएको छ।
यस वर्षदेखि सामूहिक अनुगमनमा समेत रोक लगाइएको छ। विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू अनुगमनका नाममा परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थीको लेखन कार्य प्रभावित भएको गुनासोपछि यस्तो निर्णय गरिएको हो। अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
परीक्षा तालिकाअनुसार आज अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु भएको छ। चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ।
दुबई । दुबईको अबुधाबीको अब्जान क्षेत्रमा अप्रिल ३ मा भएको घटनामा घाइते ७ जना नेपालीमध्ये ६ जनालाई सा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!