रुद्राक्ष खेतीबाट मनग्य आम्दानी, भोजपुरमा वार्षिक अर्बौंको कारोबार

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी, भोजपुरमा वार्षिक अर्बौंको कारोबार

भोजपुर।भोजपुरका किसानका लागि रुद्राक्ष खेती अहिले भरपर्दो आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी षडानन्द नगरपालिका अन्तर्गत दिङ्ला क्षेत्र रुद्राक्ष उत्पादनको प्रमुख केन्द्र बनेको छ, जहाँ हजारौँ किसान यस व्यवसायमा सक्रिय छन्। रुद्राक्ष व्यवसायी सङ्घका अनुसार जिल्लामा वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ।

यहाँका किसानले रुद्राक्ष बिक्रीबाट न्यूनतम एक लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। रुद्राक्षको मूल्य यसको मुख (प्राकृतिक रेखा), आकार, तौल र गुणस्तरका आधारमा निर्धारण हुने गर्दछ। बढी मुख भएका रुद्राक्षलाई दुर्लभ र मूल्यवान मानिने भएकाले यस्ता दानाको मूल्य निकै उच्च हुन्छ। उदाहरणका लागि, २१ मुखे रुद्राक्ष एकै गोटाको ५५ लाखदेखि ६० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। यस वर्ष दिङ्ला क्षेत्रमा २९ मुखे दुर्लभ रुद्राक्षसमेत फलेको बताइएको छ।

भोजपुरमा उत्पादन हुने रुद्राक्षको बजार स्वदेशमा मात्र सीमित छैन। चीन, भारतका साथै युरोप र अमेरिका जस्ता मुलुकहरूमा समेत यसको माग बढ्दै गएको छ। गत वर्ष मात्र करिब २१ लाख किलो रुद्राक्ष बिक्री भएकोमध्ये करिब ६ लाख किलो चीन निर्यात भएको तथ्याङ्क छ भने बाँकी भारत पठाइएको छ। यहाँका किसानले उत्पादन संखुवासभाको खाँदबारी र तुम्लिङटार हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने गरेका छन्। कतिपय अवस्थामा विदेशी व्यापारीहरू गाउँमै पुगेर रुद्राक्ष खरिद गर्ने गरेका छन्।

इतिहास हेर्दा भोजपुरमा रुद्राक्ष खेतीको सुरुवात निकै पुरानो मानिन्छ। विसं १९३२ भन्दा अघि भारतको काशीबाट ल्याइएको बिरुवाबाट दिङ्ला क्षेत्रमा यसको रोपाइँ सुरु भएको विश्वास गरिन्छ। त्यसपछि क्रमशः यसको विस्तार हुँदै आजको अवस्थामा आइपुगेको हो। धार्मिक रूपमा पनि रुद्राक्षको विशेष महत्व रहेको छ। हिन्दू धर्मावलम्बीहरूले यसलाई भगवान् शिवसँग सम्बन्धित पवित्र वस्तुका रूपमा लिने गर्छन् र पूजा, जपमाला तथा विभिन्न धार्मिक कार्यमा यसको प्रयोग गर्ने गरिन्छ।

भोजपुरमा करिब ३० हजारदेखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेका छन्। षडानन्द नगरपालिकाका नेपालेडाँडा, कुदाकाउले, देउराली, मुलपानी, केउरेनीपानी लगायत क्षेत्रमा यसको उत्पादन व्यापक रूपमा भइरहेको छ। यद्यपि यस व्यवसायसँग केही चुनौतीहरू पनि छन्। राम्रो गुणस्तरका रुद्राक्ष चोरी हुने, बोट काटिने तथा व्यवस्थित बजार अभावजस्ता समस्या किसानले भोगिरहेका छन्।

यद्यपि उचित संरक्षण, सुरक्षा र बजार व्यवस्थापन गर्न सके रुद्राक्ष खेती अझ बढी लाभदायक बन्न सक्ने सम्भावना देखिन्छ। धार्मिक महत्व, उच्च मूल्य र अन्तर्राष्ट्रिय मागका कारण रुद्राक्ष खेती भोजपुरका किसानका लागि आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने दिशामा अघि बढिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए
17 घण्टा अगाडि

काठमाडौँ | काठमाडौँ प्रहरीले गए राति अपरेशन सेफ्टीसञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा ...

छुटाउनुभयो कि ?

TOP