चिसोको प्रभाव तीव्र, न्यानो लुगा र सुरक्षित बसोबासमा जोड

काठमाडौं पुस १६-न्यूनतम तापक्रम घट्दै जाँदा देशका विभिन्न भागमा चिसोको प्रभाव तीव्र बन्दै गएको छ। चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई तथा काठमाडौं उपत्यकामा बिहान अबेरसम्म बाक्लो कुहिरो र हुस्सु लाग्न थालेको छ। पहाडी क्षेत्रमा पनि बिहानको समयमा हुस्सु देखिन थालेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भइसकेको छ, जसका कारण चिसो अझ बढिरहेको छ।

चिसोको असर बढेपछि सम्बन्धित सरकारी निकायहरूले न्यानो लुगा लगाउन र सुरक्षित बसोबासमा ध्यान दिन आग्रह गरेका छन्। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले शीतलहर र हिमपातको जोखिमबाट जोगिन सबैलाई सतर्क रहन आग्रह गरेको छ।

केन्द्रका अनुसार शरीरका सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउनुपर्छ। कोठा न्यानो पार्दा पर्याप्त हावा ओहोर–दोहोर हुने व्यवस्था मिलाउनुपर्ने केन्द्रले जनाएको छ। विशेष गरी बालबालिका, वृद्ध–वृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट जोगाउन बढी ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

हाल बाक्लो हुस्सु र कुहिरो देखिए पनि मौसम विभागले शीतलहर सुरु भएको औपचारिक घोषणा भने गरिसकेको छैन।

केन्द्रले आमाको दूध खाने शिशुलाई नियमित रूपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त सेवन गर्न र धूमपान तथा मद्यपान नगर्न सुझाव दिएको छ।

ज्वरो, झाडापखाला, दम बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ। साथै सुत्ने कोठामा आगो, हिटर, मकल वा कोइला बालेर झ्याल–ढोका बन्द गरी सुत्न नहुने चेतावनी दिँदै त्यसो गर्दा निसासिएर ज्यान जाने खतरा रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP