नालापानी युद्धमा वीरगति प्राप्त गरेका खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्न माग !

नालापानी युद्धमा वीरगति प्राप्त गरेका खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्न माग !

काठमाडौँ, माघ १५ - तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न माग गरिइएको छ ।    
    
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा इतिहास विद् प्राडा श्रीरामप्रसाद उपाध्यायले नालापानीको ऐतिहासिक युद्धमा वीरगति प्राप्त गर्नुभएका खड्काको सम्मानमा विभिन्न कार्यक्रम र संरचना निर्माण गर्नुपर्ने सुझाब दिनुभयो ।    
    
“ अङ्ग्रेज विरुद्धको नालापानीको लडाइँमा दयाराम खड्का तिग्रामा छर्रा लाग्दा पनि अन्तिमसम्म लडाइँ जारी राख्दै प्राण त्याग गर्नुभएको थियो”, प्राडा उपाध्यायले भन्नुभयो, “त्यसैले अमर जवान दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गरिनुपर्छ ।”    
    
 उहाँले प्यूठानको रम्दिकोट र नालापानीमा खड्काको पूर्ण कदको सालिक स्थापना गरी सो क्षेत्रलाई उद्यानका रूपमा विकास गर्न सुझाव दिनुभयो । खड्काको स्मृतिमा प्रतिष्ठान स्थापना गर्न सरकारी तथा गैर राजनीतिक क्षेत्रबाट आर्थिक सहयोग जुटाउनुपर्ने, खड्काका सन्ततिलाई छात्रवृत्ति तथा सरकारी सेवामा उचित स्थान दिनुपर्ने मागसमेत अघि सारिएको छ ।    
    
समितिको छलफलमा नालापानीयुद्धका वीर कम्पनी कमान्डर सुवेदार दयाराम खड्का प्रतिष्ठानका प्रतिनिधिले बाटो, अस्पताल, विद्यालय, केबलकार जस्ता संरचना राष्ट्रिय विभूतिकै नामबाट नामाकरण गर्नुपर्ने माग राखेका थिए । प्रतिष्ठानकोतर्फबाट रम्दिकोटमा पर्यटन प्रवद्र्धनका लागि केबलकार निर्माण गरी उक्त क्षेत्रको नाम ‘दयाराम रामकोट’ राख्नुपर्ने प्रस्ताव गरिएको छ ।    
    
संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालयले प्रदान गर्ने पुरस्कार दयाराम खड्काको नामबाट स्थापना गर्न, विद्यालय तथा क्याम्पसका पाठ्यक्रममा राष्ट्रिय विभूतिसम्बन्धी पाठ समावेश गर्नेलगायत प्रतिष्ठानको माग छ ।    
    
 समिति सभापति मायाप्रसाद शर्माले यस विषयमा थप अध्ययन, अन्य विज्ञसँगको छलफल र सरकारको ध्यानार्कषण गराउने जानकारी दिनुभयोे । तत्कालीन नालापानी युद्धमा सुवेदार खडकाको योगदानबारे छलफलका क्रममा राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल लगायतको उपस्थिति रहेको थियो ।    
[RSS]

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP