तत्कालीन गृहमन्त्री लेखकः भदौ २३ को नैतिक जिम्मेवारी लिएँ, २४ गतेको घटना नियोजित षड्यन्त्र

काठमाडौँ पुस १४— तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको घटनाको नैतिक जिम्मेवारी आफूले लिएको स्पष्ट पारेका छन् भने भदौ २४ गते भएको हिंसात्मक घटना भने नियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।

सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै लेखकले २३ गतेको घटनापछि नैतिक जिम्मेवारी वहन गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका हुन्।

‘गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यो दुःखद् घटनाबाट म अत्यन्त मर्माहत भएँ। ठूलो पीडाबोध भएकाले देशको गृहमन्त्रीको हैसियतले पदीय नैतिक जिम्मेवारी बोक्नु पर्दछ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल राजीनामा गरेको हुँ,’ लेखकले आयोगमा दिएका बयानमा उल्लेख छ।

उनले भदौ २३ गतेको घटना हुँदा आफू देशको गृहमन्त्री रहेको र सधैँ संविधान, प्रचलित कानुन तथा सरकारी नीतिभित्र रही असल मनशायका साथ काम गरेको दाबी गरे। व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै नबिर्सिएको पनि उनले बताएका छन्।

तर, आफ्नो राजीनामापछि भदौ २४ गते भएका हिंसात्मक गतिविधि भने राष्ट्रको अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्ध लक्षित भएको लेखकको भनाइ छ। ‘सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनजस्ता राज्यका प्रमुख निकायहरूमा आक्रमण गर्ने दुस्साहस कुनै पनि देशभक्त नेपालीको सोचभन्दा बाहिरको विषय हो,’ उनले भने।

राज्यका तीनै अंग—कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि गरिएको आक्रमणलाई जेन–जी पुस्ताको सोच र योजनासँग जोड्न नमिल्ने उल्लेख गर्दै लेखकले उक्त घटना राष्ट्र र लोकतन्त्रविरुद्ध गरिएको नियोजित षड्यन्त्र भएको ठम्याइ प्रस्तुत गरेका छन्।
जाँचबुझ आयोगले घटनासम्बन्धी सत्य–तथ्य पत्ता लगाउने क्रममा लेखकसँग विस्तृत बयान लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP