रवि–बालेन भेट: सहकार्यको प्रस्ताव छलफलको चरणमा

काठमाडौं पुस ८ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक सहकार्यको सम्भावना बारे छलफल प्रगतिशील चरणमा पुगेको छ।

नख्खु कारागारबाट केही दिनअघि मात्र मुक्त भएका लामिछानेले काठमाडौं आएपछि राजनीतिक भेटवार्ता र पार्टी गतिविधि तीव्र बनाएका छन्। उनी शनिबार जेनजी घाइते र शहीद परिवारसँग भेटे भने आइतबार पार्टी कार्यालयमा स्वागत तथा बैठकपछि प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी टोलीसँग छलफलमा देखिएका थिए।

निकट स्रोतका अनुसार, बालेनसँग भएको दुई दिनको बैठक सकारात्मक रहेको छ। छलफलमा बालेन निकटस्थहरूले दर्ता गरेको ‘देश विकास पार्टी’ र रास्वपाबीच कसरी सहकार्य गरेर अघि बढ्ने भन्नेबारे चर्चा भएको थियो। तर, अहिलेसम्म कुनै निर्णायक निष्कर्ष भने निक्लेको छैन।

छलफलमा बालेनका सहयोगी कुमार बेन र निश्चल बस्नेत र रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल तथा केन्द्रीय सदस्य असिम साह सहभागी थिए। बैठकमा सहकार्यका संरचना, साझा रणनीति, र निर्वाचन सिट बाँडफाँटका विषयमा विचार विमर्श भएको स्रोतले जानकारी दिएको छ।

निकट स्रोतका अनुसार अबको निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना समेत रहिरहेको छ। उनीहरू दुई दिन कमलपोखरीस्थित असिम शाहको घरमा बैठकमा बसेका थिए।

रास्वपाका एक पदाधिकारीले भने, “विभिन्न दल र समूहसँग सहकार्यका प्रस्ताव भइरहेका छन्। हामी आक्रामक ढंगले अघि बढ्ने तयारीमा छौं। एक–दुई दिनभित्र नयाँ प्रगति आउनेछ।”

सभापति लामिछाने कारागारमा रहेका बेला केही राजनीतिक तयारी रोकिएका थिए। स्रोतका अनुसार, अब भेटवार्ता तीव्र बनाएर सहकार्यका निर्णयलाई मूर्त रूप दिने प्रयास भइरहेको छ। “सशर्त चुनावमा सिट बाँडफाँट र एकताको विषयसँग सम्बन्धित कुरा स्पष्ट नहुँदासम्म हाम्रो एकता पूर्ण हुनेछैन,” एक नेताले भने।

राजनीतिक विश्लेषकहरूका अनुसार, रवि–बालेन भेटले आगामी निर्वाचन रणनीतिमा ठूलो प्रभाव पार्न सक्छ। दुवै पक्षबीच सहकार्य भए आगामी चुनावमा गठबन्धन र सिट बाँडफाँटको दिशा प्रष्ट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP