काठमाडौं पुष ७- अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न, उनीहरूसम्बन्धी सूचनाको एकीकृत व्यवस्थापन गर्न, सम्भावित अपराध नियन्त्रण गर्न तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले विकास गरेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आगामी वि.सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) देखि अनिवार्य रूपमा कार्यान्वयन गर्ने भएको छ।
विभागद्वारा सार्वजनिक गरिएको अत्यन्त जरुरी सूचनाअनुसार उक्त प्रणाली पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेका तारे होटलहरूमा अनिवार्य रूपमा लागू गरिनेछ। यसलाई क्रमशः विस्तार गर्दै दोस्रो चरणमा वि.सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी तथा मनी एक्सचेञ्जरहरूमा लागू गरिने कार्ययोजना रहेको छ। त्यसपछि चरणबद्ध रूपमा सबै प्रकारका होटल, गेस्ट हाउस तथा विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सार्वजनिक र निजी संस्थाहरूमा यो प्रणाली कार्यान्वयन गरिने विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै निकायले यस प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। तर प्रणाली कार्यान्वयनको समय नजिकिँदै जाँदा पनि हालसम्म दर्ता भएका निकायको संख्या अपेक्षाकृत न्यून देखिएको विभागको भनाइ छ। यस कारण विभागले सम्बन्धित सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई यथाशीघ्र प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ। पहिलो चरणमा उपत्यकाका तारे होटलहरूमा मात्र अनिवार्य भए तापनि, विदेशी नागरिकलाई सेवा दिने अन्य सबै निकायले अग्रिम रूपमा दर्ता गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।
दर्ता प्रक्रिया, आवश्यक कागजात तथा प्रयोगसम्बन्धी म्यानुअल अध्यागमन विभागको आधिकारिक वेबसाइट (www.immigration.gov.np) मा उपलब्ध रहेको छ। प्रणाली सञ्चालन तथा प्राविधिक पक्षबारे थप जानकारी आवश्यक परेमा विभागको सूचना प्रविधि शाखा वा कम्प्युटर इन्जिनियर सन्तोष कुमार शाह (मोबाइल: ९७६१४२३६३७) लाई सम्पर्क गर्न सकिनेछ।
अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनपछि विदेशी नागरिकसम्बन्धी विवरणको केन्द्रीय अभिलेख तयार हुने, सेवा प्रवाह थप प्रभावकारी हुने र सुरक्षा व्यवस्थामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया