काठमाडौ ।गुठी व्यवस्थाकै कारण नेपालमा हालसम्म पनि धार्मिक / सांस्कृतिक चहलपहल भइरहेको पाइन्छ । गुठी व्यवस्थाले सबै समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य मान्यताको कदर, संरक्षण र सम्मान गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने सांस्कृतिक परिभाष्य निर्माण गरेको छ । परम्परागत संस्कृतिको जगेर्ना गरी भाषा र संस्कृतिको मौलिकतालाई अक्षुण्ण राख्दै ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गरी असल संस्कृतिको अभ्यास, सांस्कृतिक सहिष्णुता र सहअस्तित्व मार्फत सामाजिक सद्भाव कायम गर्न गुठी संस्थानले हरदम योगदान पुर्याइरहेको हुन्छ । यस्ता सांस्कृतिक धरोहरहरुमध्ये विवाह पञ्चमी एक महत्वपूर्ण पर्व हो । गुठी संस्थानले यस पर्वको साँस्कृतिक जीवन्ततालाई संरक्षण र सम्वर्द्धन गर्दै आएको छ ।
विवाह पञ्चमी प्राचीनकालदेखि नै मिथिलावासीहरुले उत्साहपूर्वक मनाउँदै आएकोमा आज पर्यन्त उत्तिकै रौनकताका साथ मनाइँदै आएका छन् । जनकपुरका हरेक सन्ध्या सागरमा आरती गर्ने गरिन्छ, रामायणको स्मरण गरिन्छ अनि आरतीसँगै सीताका महिमाहरु स्मरण गरिन्छ, रामका कीर्तिहरुको यश गाइन्छ । मिथिलाके सियाराम जगतजननी एछ अर्थात् मिथिलाकी छोरी सीता र उनका श्रीमान् राम जगतका जननी हुन् भन्ने लोकोक्ति आज पनि मिथिलाका घरघरमा सुनिन्छ । त्रेता युगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गर्नुभएको धार्मिक मान्यता विद्यमान रहेको छ । मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम-सीताको विवाह नेपालको जनकपुरधाममा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको मानिन्छ।
सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यही भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ । जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अर्थात् जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी सुपुत्री हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरणका रुपमा सीतालाई लिने गरिन्छ । सीतालाई सत्चरित्रता, नारीत्व, मातृवात्सल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठूल्ठूला वीरहरुले पनि उचाल्न सकेनन्, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यो देखेर नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने वाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसँग विवाह भएको थियो ।
यो विवाह महोत्सव अपरान्हको समयमा आयोजना गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिरसहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । पर्वका अवसरमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्न भक्तजनहरुको अत्यधिक घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहित जनकपुर नगर परिक्रमा गरेर जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।
यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन मित्रराष्ट्र भारतको अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा (बाराती समूह) लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्ती समूहलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत र अभिवादन गर्ने परम्परा छ । यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा-अनुसार गङ्गासागरमा पुगेर कन्यापक्षका तर्फबाट गरिने 'मटकोर' कर्म निर्वाह गरिन्छ ।
पञ्चमी तिथिमा राम मन्दिरबाट श्री रामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष) द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँच पटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरती पूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्याएर आरती पूजन गरिन्छ । राम मन्दिरको डोला लावा लस्करका साथ राम मन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा-अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ । आजको दिन पौराणिक रुपमा विवाहमैत्री दिन हो । आजको दिन विवाह गर्नका लागि साईत देखाउन पर्दैन ।
सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आदर्श पत्नी र देवीका रुपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रुपमा चिनिन्छ । २४ हजारवटा पंक्ति, ५ सयवटा अध्याय र सात वटा खण्ड भएको ठूलो खण्डकाब्य रामायण यिनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । रत्नाकर डाँकुबाट सन्त बनेका वाल्मिकी ऋषिले लिपिवद्ध गरेको रामायण नेपाल र भारत बाहेक श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, मलेशिया र ईण्डोनेसियामा एकदमै प्रचलित छ । रामायणका यिनै पंक्तिहरुलाई वाल्मिकी ऋषिले रामका पुत्रहरु लव र कुशलाई कण्ठस्त गराएका थिए । रामायणकै पंक्तिहरु सुनेपछि रामले आफ्ना छोराहरुलाई ठम्याएका थिए । सीताको अग्निपरीक्षापछि रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ । जसले समाजलाई मर्यादित र सामाजिक सहिष्णुतामा रहन सिकाएको पाइन्छ । यस्तो गरिमामय तथा महत्वपूर्ण पर्व सञ्चालनको लागि गुठी संस्थानले प्रमुख भूमिका खेलिरहेको छ । विवाहपञ्चमी पर्वको सञ्चालन र ब्यवस्थापनको संयोजन गुठी संस्थानबाट हुँदै आएको छ । संस्थान मातहतका विभिन्न मठ मन्दिरहरुले पर्वमा सहभागी हुने साधु, सन्त, अतिथि, अभ्यागतहरुको स्वागत गर्ने, बसोबास तथा भण्डारा लगायतको बन्दोबस्त गर्ने कार्य गर्दै आइरहेका छन् । यस्ता पर्वपूजा तथा साँस्कृतिक पर्वहरुको जीवन्तताका लागि गुठी परम्पराको आवश्यकता टड्कारो देखिन्छ ।
विवाह पञ्चमी पर्व धर्म र संस्कृतिको अनुपम मिश्रणको अनुभूति गराउने एक पर्व हो । संस्कृति देश, काल र परिस्थिति सापेक्ष हुन्छ तर धर्म यी सबैभन्दा माथि उठेको हुन्छ । संस्कृतिलाई क्रियाकलापपरक मान्न सकिन्छ भने धर्म अनुभूतिपरक हुन्छ । संस्कृति समाज र इतिहासका विविध पक्षहरुको सँगालो हो भने धर्म शाश्वत मूल्य, मान्यता र चिन्तनको विशाल पुञ्ज हो । यसरी गहिरिएर हेर्दा धर्म भनेको सेवा, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व, अहिंसा, सदाचार आदि हो । त्यसैले पूर्वीय चिन्तकहरुले "सेवा हि परमो धर्मः", "अहिंसा परमो धर्मः", "आचारः परमो धर्मः" जस्ता आदर्श वाक्यहरुबाट धर्मको व्याख्या गरेका छन् । यी दुवैको संगम र उत्थान विवाह पञ्चमीसँग जोडिएको छ । विवाह पञ्चमी पर्वले मिथिला क्षेत्रको पहिचानलाई उजागर गराउँदछ, प्राचीन पौराणिक महाविवाहको सम्झना गराउँदछ । पौराणिक ग्रन्थहरुका अनुसार भगवान राम तथा देवी सीता भगवान विष्णु तथा देवी लक्ष्मीका अवतार हुन् । दुबैले समाजमा आदर्श तथा मर्यादित जीवनलाई उदाहरणीय बनाउनका लागि मानवको अवतार लिएका थिए । त्यसैले यसको आदर्श जीवनयापनका रुपमा महत्व रहेको छ । राम र सीतालाई नेपाली जनमानसमा प्रेम, समर्पण, मूल्य, मान्यता तथा आदर्शको परिचायक श्रीमान्-श्रीमतीको रुपमा लिने गरिन्छ । नारी पुरुषको महत्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ । आदर्श पुरुष र मर्यादा पुरुषोत्तम कस्तो हुनुपर्दछ भन्ने लगायतका विषयहरुको महत्व राख्दछ । जसले समाजलाई मर्यादित जीवनयापन समाजमा सदस्यहरू बीच पारस्परिक मित्रता, सहयोग, भावनात्मक सम्बन्ध कायम रहने नारी पुरुषको महत्व पारिवारिक दायित्व लगायतको सामाजिक सहिष्णुता कायम गराउँदछ ।
जानकी मन्दिर गुठी राजगुठी अन्तर्गत छुटमा सञ्चालित गुठी संस्थानले रेखदेख, नियन्त्रण र व्यवस्थापन गरिआएको गुठी हो । उक्त गुठी सञ्चालन तथा व्यवस्थापनको लागि गुठी संस्थानले प्रचलित कानून बमोजिम अवधि तोकी महन्त नियुक्ति गर्ने परम्परा रहेको छ । जानकी मन्दिरका धार्मिक सांस्कृतिक कार्यहरु अवरुद्ध हुन नदिई साविक परम्परा बमोजिम अविछिन्नरुपमा सञ्चालन गर्न तथा महन्तको प्रशासनिक कार्यमा आवश्यक सहायता सहित धार्मिक परम्परा बमोजिम दीक्षित भई भविष्यमा महन्त पद सम्हाल्न सक्ने गरी गुठी संस्थानबाट एकजना उत्तराधिकारी महन्त नियुक्त गर्न सकिने कानूनी व्यवस्था रहेको छ । यसै अनुरुप जानकी मन्दिर गुठी सञ्चालन भइआएको छ । गुठी संस्थानले समय समयमा गुठीका धार्मिक कार्यहरु साविक परम्परा बमोजिम भए/नभएको, भगवानका गरगहना तथा मूल्यवान् सम्पत्ति संरक्षण भए/नभएको, जग्गा जमिन, पोखरी लगायतका जिन्सी सम्पत्ति हिनामिना भए/नभएको सम्बन्धमा गुठी संस्थान, शाखा कार्यालय जनकपुर र प्रधान कार्यालयले समेत अनुगमन गरी संरक्षण, व्यवस्थापन तथा निर्देशन दिने कार्य गरिआएको छ । श्रीका सम्पत्ति तथा धार्मिक कार्यहरु खण्डित हुन नदिन गुठी संस्थान सचेत रहेको छ । अन्य पर्वहरुमा जस्तै हरेक वर्ष मनाइने विवाह पञ्चमी पर्वमा समेत गुठी संस्थानको तर्फबाट उच्च पदस्थ पदाधिकारी सहित उल्लेख्य संख्यामा कर्मचारीहरुको सहभागिता रहने गर्दछ । गुठी संस्थानबाट विवाह पञ्चमी पर्वलाई भव्यतापूर्वक सम्पन्न गर्न हरदम प्रयत्न भई आएको छ ।
अतः धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकता सामाजिक न्याय, सुशासन कायम गर्दै सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी राष्ट्रिय लक्ष्य हासिल गर्न र समृद्धिको दिशामा अगाडि बढ्न गुठी परम्पराले महत्वपूर्ण योगदान पुर्याइरहेको हुँदा यस्ता सम्पदा एवं मूल्य मान्यताको जगेर्ना एवं निरन्तरताको सुनिश्चित गर्नु आजको आवश्यकता हो । सीता अनि रामका कहानी र कथनहरु सदियौंसम्म चलिरहोस् । यस वर्षको बिवाह पञ्चमीको सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
(लेखक कानून अधिकृत, गुठी संस्थान )
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया