‘हामी पढ्दैनौं, शुल्क फिर्ता देऊ’ : द ब्रिटिस कलेजविरुद्ध विद्यार्थी उत्रिए सडकमा

काठमाडौं,पुस १०-काठमाडौं थापाथली स्थित द ब्रिटिस कलेजविरुद्ध विद्यार्थीहरू आक्रोशित बनेका छन्। खारेज भइसकेको र मान्यता नपाएको कोर्समा भर्ना गराई चर्को शुल्क असुल गरिएको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

 “अब हामी पढ्दैनौं, लिएको शुल्क फिर्ता गर” भन्ने नारासहित विद्यार्थीहरूले कलेज परिसरमा प्रदर्शन गर्दा अवस्था तनावग्रस्त बनिरहेकोछ।

पीडित विद्यार्थीका अनुसार कलेजले दुई वर्षे अध्ययन गराउने प्रतिबद्धता जनाउँदै प्रति विद्यार्थी करिब ६ लाख रुपैयाँ असुल गरेको थियो। तर, ६ महिनामै पढाइ अधुरो छोडेर यूएई पठाइएको र इन्टर्नसिपको नाममा सामान्य होटलमा श्रम गर्न बाध्य बनाइएको उनीहरूको आरोप छ।

विद्यार्थीहरूले कलेज प्रशासनसँग पटक–पटक संवाद गर्न खोज्दा उल्टै धम्की पाएको दाबी गरेका छन्। “कहिले सीआईबी, कहिले प्रहरी भन्दै फरक–फरक नम्बरबाट फोन आयो। नाम उल्लेख गर्‍यौं भने जे पनि हुन सक्छ भनियो,” एक पीडित विद्यार्थीले बताए। सम्भावित जोखिमका कारण उनीहरूले नाम नखुलाउने शर्तमा गुनासो गरेका हुन्।

उच्च स्रोतका अनुसार कलेजले शिक्षा मन्त्रालयबाट अनुमति लिएको भनिएको एकवर्षे फाउन्डेसन तथा तीनवर्षे BSc (Hons) Hospitality Business Management (Non-Practical) कार्यक्रम हाल खारेज भइसकेको छ। तर, सोही आधारमा विद्यार्थी भर्ना गरी नेपालमा एक वर्ष पढाएर यूएई पठाइएको पाइएको छ।
यूएईमा विद्यार्थीलाई Pearson (BTEC) Higher National Diploma in Hospitality and Tourism मा भर्ना गराइएको थियो, जुन एकेडेमिक स्नातक कार्यक्रम नभई प्रोफेसनल कोर्स हो। यसबारे सुरुमा स्पष्ट जानकारी नदिइएको विद्यार्थीको भनाइ छ।

विद्यार्थी आन्दोलनप्रति विभिन्न विद्यार्थी संगठनले समर्थन जनाएका छन्। अनेरास्ववियु क्रान्तिकारीले विदेशी विश्वविद्यालय राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै शैक्षिक भ्रम, उपभोक्ता अधिकार हनन र अनैतिक अभ्यास भएको आरोप लगाएको छ। इन्टर्नसिपको नाममा विद्यार्थीलाई श्रमजस्तो काममा लगाइनु, पाठ्यक्रम संरचना र शुल्कबारे भ्रम सिर्जना गर्नु गम्भीर शैक्षिक अपराध भएको संगठनको ठहर छ।

यस्तै, नेकपा एमालेनिकट अनेरास्ववियुले पनि शान्तिपूर्ण आन्दोलनमाथि कलेज प्रशासनले दमन गरेको आरोप लगाएको छ।

घटनापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार आइतबारभित्र प्रतिवेदन बुझाइनेछ। कलेजको पठनपाठन, अनुमति, शुल्क र विद्यार्थी गुनासोबारे विस्तृत अध्ययन भइरहेको जनाइएको छ।

पीडित विद्यार्थीहरूले छानबिन निष्पक्ष हुनुपर्ने, शुल्क फिर्ता हुनुपर्ने र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP