नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, मन्त्री क्वार्टर अस्वीकार

काठमाडौं,असोज ६- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहणसँगै नयाँ उदाहरण प्रस्तुत गरेका छन् । सोमबार मन्त्रालय प्रवेश गरी पदभार सम्हालेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रीको लागि तोकिएको क्वार्टरमा नबसी मन्त्रालयमै बस्ने घोषणा गरेका हुन् ।

मन्त्री पुनले मन्त्रालयभित्रै आफ्नै कार्यकक्ष नजिकै एउटा सानो कोठा बनाउन निर्देशन दिँदै भने, “मलाई मन्त्री क्वार्टर चाहिँदैन । यहीँ मन्त्रालयमै कोठा बनाउनू । सुत्ने खाट र एउटा टेबल भए पुग्छ । म आफैं पकाएर खान्छु ।”

उनले व्यक्तिगत सुविधा र विलासीपनाप्रति आफू उदासीन रहेको स्पष्ट पार्दै सुरक्षाकर्मीहरूलाई पनि मन्त्रालयमै बस्न आग्रह गरे । यससँगै उनले सरकारी गाडी प्रयोग सम्बन्धमा पनि फरक निर्णय सुनाउँदै भने, “सरकारी कामबाहेक अरु कुनै ठाउँमा जाँदा म सरकारी गाडी प्रयोग गर्दिनँ ।”

नेपालमा परम्परागत रूपमा मन्त्रीहरूले ठूलो बजेट खर्च गरेर क्वार्टर, सरकारी गाडी, सुरक्षाकर्मी, भत्ता लगायतका विशेष सुविधा उपभोग गर्दै आएको अवस्था छ । तर मन्त्री पुनले पदभार ग्रहणको पहिलो दिनमै यस्तो निर्णय लिनु देशमा नयाँ अभ्यासको सुरुवातका रूपमा हेरिएको छ ।

समाजसेवी, आविष्कारक र ‘राष्ट्रिय आविष्कार केन्द्र’का संस्थापकका रूपमा परिचित पुनले विगत लामो समयदेखि विज्ञान, प्रविधि र नवप्रवर्तनलाई जनस्तरमा जोड्दै आएका छन् । मन्त्री बनेपछि पनि उनको सादगीपूर्ण जीवनशैलीले मन्त्रीस्तरीय पदसँग जोडिने परम्परागत विलासी संस्कृतिलाई चुनौती दिएको छ ।

मन्त्री पुनको यो घोषणा सामाजिक सञ्जालमा पनि चर्चा विषय बनेको छ । कतिपयले यसलाई "राजनीतिमा नयाँ खालको सादगी र प्रतिबद्धताको उदाहरण" भन्दै प्रशंसा गरेका छन् भने कतिपयले "यो निर्णय कति समय टिक्छ भन्ने प्रश्न" उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP