वीर नेपाली छोरा बिपिन जोशीप्रति उर्जा मन्त्री कुलमान घिसिङको श्रद्धाञ्जली : “उनको साहस र त्याग नेपाली गौरवको प्रतीक बन्नेछ”

वीर नेपाली छोरा बिपिन जोशीप्रति उर्जा मन्त्री कुलमान घिसिङको श्रद्धाञ्जली : “उनको साहस र त्याग नेपाली गौरवको प्रतीक बन्नेछ”

काठमाडौँ कार्तिक ३ — उर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रियस्तरको क्रूर हिंसामा परेर ज्यान गुमाएका नेपाली युवक बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

फेसबुकमार्फत घिसिङले जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। उनले लेखेका छन्,
“आज हामी वीर नेपाली छोरा बिपिन जोशीको पार्थिव शरीर बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न दिउँसो तीन बजे एयरपोर्ट जाँदैछौं। यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रियस्तरको अमानवीय र क्रूर हिंसाको शिकार बन्नुपर्‍यो।”

मन्त्री घिसिङका अनुसार अन्तिम क्षणमा पनि बिपिनले देखाएको साहस, बहादुरी र त्यागले अन्य धेरै साथीहरूको जीवन बचाउन सहयोग पुर्‍यायो। “बिपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गौरवान्वित बनाइरहनेछ,” घिसिङले लेखेका छन्।

उनका अनुसार जोशीको बलिदानले नेपाली युवाको साहस र आत्मसम्मानको पराकाष्ठा देखाएको छ। “उहाँ नेपाली गौरवको प्रतीकका रूपमा सधैं जीवित रहनुहुनेछ,” मन्त्री घिसिङको भनाइ छ।

त्यसैगरी उनले बिपिनको घटनालाई नेपालको आर्थिक र सामाजिक संरचनाको कठोर वास्तविकताको ऐना पनि भनेका छन्। “यो केवल एउटा दुःखद समाचार मात्र होइन, यो हाम्रो प्रणालीको डरलाग्दो ऐना हो, जहाँ युवाका सपना र भविष्य हराइरहेका छन्,” उनले लेखेका छन्।

मन्त्री घिसिङले यस्तो अवस्थाको अन्त्य गर्दै नेपालमै बसेर प्रत्येक युवाले स्वाभिमानपूर्वक आफ्नो सपना पूरा गर्न सक्ने वातावरण बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP