भोटेकोशी बाढीपछि चीनमा अलपत्र ५७६ नेपालीको सकुशल उद्धार

भोटेकोशी बाढीपछि चीनमा अलपत्र ५७६ नेपालीको सकुशल उद्धार

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकको सकुशल उद्धार गरी स्वदेश फर्काइएको छ।

चीन सरकारको विशेष सहयोग तथा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष समन्वयमा उनीहरूलाई नेपाल–चीन सीमावर्ती कोदारी नाका हुँदै नेपाल प्रवेश गराई काठमाडौं पठाइएको हो।

बाढीका कारण रसुवाको स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीहरूलाई भदौ १८ गतेदेखि २२ गतेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट चरणबद्ध रूपमा स्वदेश ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

उद्धार गरिएकामध्ये भदौ १८ गते ११४ जना, भदौ १९ गते १५५ जना (रसुवाका १४५, धादिङका १ र काठमाडौंका ९), भदौ २० गते ९६ जना, भदौ २१ गते १०५ जना तथा भदौ २२ गते १०६ जना नेपाल फर्किएका छन्।

उद्धारपछि उनीहरूलाई स्थानीय तह तथा विभिन्न संघ–संस्थासँगको समन्वयमा सवारी साधनको व्यवस्था गरी काठमाडौंतर्फ पठाइएको थियो।

सीमा क्षेत्रमा उद्धार तथा आवागमन व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भूपबहादुर बुढाथोकीको नेतृत्वमा १५ सदस्यीय विशेष टोली निरन्तर परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीपछि चीनमा फसेका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने कार्यलाई सीमा क्षेत्रमा गरिएको महत्वपूर्ण उद्धार तथा मानवीय सहजीकरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP