कानुनी विवादमा निलम्बित माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ बागमती नदीबाट उद्धार

कानुनी विवादमा निलम्बित माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ बागमती नदीबाट उद्धार

काठमाडौं । गम्भीर कानुनी विवादमा मुछिएर निलम्बनमा परेका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशकुमार रोक्कालाई सोमबार बागमती नदीबाट उद्धार गरिएको छ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१३ निवासी ५९ वर्षीय रोक्कालाई दिउँसो करिब साढे ४ बजे थापाथलीस्थित प्रहरी बिट पछाडिको बागमती क्षेत्रबाट स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो। उद्धारपछि उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा रोक्काको शरीरमा बाहिरी चोटपटक नदेखिएको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। चिकित्सकको निगरानीमा उनको थप उपचार तथा स्वास्थ्य परीक्षण भइरहेको छ।
पारिवारिक स्रोतका अनुसार रोक्का पछिल्लो करिब एक महिनादेखि मानसिक स्वास्थ्यसम्बन्धी उपचारमा थिए। यद्यपि, सोमबारको घटनालाई उनको स्वास्थ्य अवस्था वा उनीविरुद्ध चलिरहेको कानुनी मुद्दासँग प्रत्यक्ष रूपमा जोडेर निष्कर्ष निकाल्न नमिल्ने भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

कृषि विकास बैंकको डिजिटल बैंकिङ विभागको प्रमुखबाट अवकाश पाएपछि रोक्का प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको सीईओ नियुक्त भएका थिए। तर कम्पनीको इजाजतपत्र प्राप्त गर्ने क्रममा झुटा विवरण तथा कागजात पेश गरेको, नियामकीय प्रक्रिया उल्लंघन गरेको र धितोपत्र तथा बीमासम्बन्धी कानुनविपरीत कार्य गरेको आरोपमा गत जेठ २८ गते उनीविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दा दर्तासँगै उनी स्वतः निलम्बनमा परेका थिए।

सोही प्रकरणमा कम्पनीका निलम्बित अध्यक्ष दिनेश सरियासहित सञ्चालक नितेश मालपानी र भानुभक्त अर्यालविरुद्ध पनि धितोपत्रसम्बन्धी कानुन तथा बीमा ऐनअन्तर्गत मुद्दा दायर भएको छ।

कम्पनीको लाइसेन्स प्रक्रियासँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा रोक्का बागमती नदी क्षेत्रमा भेटिएको घटना सार्वजनिक भएपछि यसले थप चासो र चर्चा पाएको छ। प्रहरीले उनी घटनास्थलसम्म कसरी पुगे, त्यहाँ पुग्नुको कारण के थियो र घटनाअघि उनका गतिविधि कस्ता थिए भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP