बाढीको जोखिम अझै कायम, भोटेकोशी–त्रिशूली क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढीको जोखिम अझै कायम, भोटेकोशी–त्रिशूली क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबारे जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले चीनको तिब्बत क्षेत्रमा नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम कायम रहेको जनाएको छ।

महाशाखाका अनुसार भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर निगरानी आवश्यक रहेको छ। तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै बस्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिवेदनअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको केही समयपछि स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। त्यसलगत्तै बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएपछि महाशाखाले तटीय क्षेत्रमा पूर्वसूचना र सतर्कता सन्देश प्रवाह गरेको जनाएको छ।

बाढीको बहाव बिहान १०ः२८ बजे धादिङको गल्छी, ११ः५० बजे मलेखु बजार, दिउँसो १ बजे मुग्लिङ हुँदै ३ः२० बजे चितवनको देवघाट क्षेत्र पुगेको प्रतिवेदनमा उल्लेख छ।
बाढीको तीव्र बहावका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुस्थित जलमापन केन्द्रका उपकरण बगाएका कारण ती स्थानको यकिन तथ्याङ्क संकलन गर्न नसकिएको महाशाखाले जनाएको छ।

यद्यपि धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे जलसतहले १२.१ मिटरको खतरा तह पार गर्दै अधिकतम १२.३ मिटरसम्म पुगेको रेकर्ड गरिएको छ।

महाशाखाले चीनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्था अझै सामान्य नभएकाले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा जुनसुकै बेला थप पानीको बहाव बढ्न सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुस्ताङ भूकम्पपछि क्षतिग्रस्त घरबाट सामान सुरक्षित स्थानमा सारियो
4 घण्टा अगाडि

काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...

छुटाउनुभयो कि ?

TOP