केन्या । पश्चिमी केन्याको दुर्गम चेपोरोर गाउँमा एउटा सानो सुनको डल्लो भेटिएपछि अचानक ‘गोल्ड रस’ सुरु भएको छ। बाख्रा चराउने ३३ वर्षीय मानासे लोमाचारले करिब ३ ग्राम सुन भेटेर ३६ हजार केन्याली शिलिङमा बिक्री गरेपछि गाउँमा सुन खोज्नेहरूको भीड बढेको हो।
लोमाचार हराएको बाख्रा खोज्दै जाँदा नदी किनारमा केही महिलाले सुन खोज्न माटो चालिरहेको देखेका थिए। उनी पनि त्यसमा सहभागी भएपछि उक्त क्षेत्रमा सुन रहेको पत्ता लागेको बताइएको छ। उनको सुन बिक्री भएको खबर फैलिएसँगै चेपोरोरमा मानिसहरू ठूलो संख्यामा भेला हुन थाले।
स्थानीय अधिकारीका अनुसार सुनको खोजीका लागि एक समय करिब १० हजार मानिस चेपोरोर पुगेका थिए। केन्याका विभिन्न क्षेत्रसँगै छिमेकी देश युगान्डाबाट समेत मानिसहरू सुनको खोजीमा त्यहाँ पुगेका छन्। अहिले गाउँको खुला जमिन खाल्डाखुल्डी र अस्थायी खानी शिविरले भरिएको छ।
सुन भेटिने आशामा मानिसहरू कुटो, बेल्चा र अन्य सामान्य उपकरण प्रयोग गरेर जमिन खन्ने तथा नदीको बालुवा र माटो चाल्ने गरिरहेका छन्। केही अनुभवी खानी कामदार भने गहिरा खाल्डामा समेत प्रवेश गरेर सुन खोजिरहेका छन्।
तर सुनको वास्तविक मात्रा र उक्त क्षेत्र व्यावसायिक रूपमा ठूलो खानी बन्न सक्ने वा नसक्ने विषय अझै स्पष्ट भइसकेको छैन। अधिकारीहरूले केही स्थानमा सुन भेटिएको पुष्टि भए पनि फैलिएको हल्लाका कारण सुनको सम्भावना वास्तविकभन्दा धेरै ठूलो देखाइएको हुनसक्ने बताएका छन्। पछिल्लो समय सुन खोज्ने मानिसको संख्या घटेर करिब २ हजार ५ सय आसपास पुगेको बताइएको छ।
सुन खोज्ने भीड बढेसँगै त्यहाँ नयाँ व्यापारसमेत सुरु भएको छ। स्थानीय अधिकारीका अनुसार खानी क्षेत्रमा खाना, पानी तथा अन्य आवश्यक सामग्री बिक्री गर्ने २०० भन्दा बढी व्यवसाय खुलेका छन्। तर खानेपानी, सरसफाइ, स्वास्थ्य र सुरक्षाजस्ता आधारभूत सेवामा भने ठूलो दबाब परेको छ।
अधिकारीहरू बालबालिका समेत सुन खोज्ने काममा संलग्न हुन थालेको भन्दै चिन्तित छन्। विद्यालय खुल्ने समय नजिकिँदै गर्दा बालबालिकालाई खानी क्षेत्रबाट हटाउने प्रयास भइरहेको छ। साथै असुरक्षित उत्खनन, स्वास्थ्य जोखिम र महिलामाथि हुनसक्ने हिंसालाई लिएर सुरक्षा निगरानीसमेत बढाइएको छ।
यसरी एक बाख्रा चराउने युवकले संयोगवश भेटेको ३ ग्राम सुनले हजारौँ मानिसलाई भाग्य खोज्दै एउटै गाउँमा जम्मा गराएको छ। तर जमिनमुनि वास्तवमै कति सुन छ भन्ने प्रश्नको जवाफ परीक्षण र थप अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!