माग घटेपछि ‘बुलेटमै थन्कियो’ ग्यास, उद्योगी चिन्तित

माग घटेपछि ‘बुलेटमै थन्कियो’ ग्यास, उद्योगी चिन्तित

काठमाडौँ। बजारमा ग्यासको माग तीव्र रूपमा घटेपछि उद्योगीहरू समस्यामा परेका छन्। आधा सिलिन्डर (७.१ केजी) बिक्री गर्ने सरकारी निर्णय र विद्युतीय चुलोको प्रयोग बढ्दै जाँदा ग्यास खपत घटेको हो। परिणामस्वरूप ग्यास बुलेटमै थन्किन थालेको छ।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा मासिक ४५–४८ हजार मेट्रिक टन ग्यास खपत हुने बजारमा पछिल्लो १५ दिनमा करिब १८ हजार मेट्रिक टन मात्र आयात भएको छ। माग घटेसँगै आयात पनि घटेको देखिएको छ।

सरकारले आपूर्ति सहज बनाउन फागुन २८ गतेदेखि आधा तौलको सिलिन्डर वितरण लागू गरेको थियो। तर यसले उल्टै समस्या निम्त्याएको उद्योगीहरूको गुनासो छ। नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार आधा सिलिन्डर वितरण गर्दा खाली सिलिन्डर अभाव भएको छ, जसका कारण नयाँ ग्यास रिफिल गर्न सकिएको छैन।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार अहिले ग्यासको खपत करिब ५० प्रतिशतले घटेको छ। खाली सिलिन्डर नहुँदा बुलेटमै ग्यास ‘होल्ड’ गरेर राख्नुपरेको छ, जसले व्यवसायमा थप दबाब सिर्जना गरेको छ।

ढुवानी खर्च पनि उद्योगीका लागि अर्को चुनौती बनेको छ। पूरा वा आधा सिलिन्डर जे भए पनि एउटै गाडीमा करिब २० हजार रुपैयाँ ढुवानी लागत लाग्ने भएकाले आधा सिलिन्डर प्रणालीले लागत झनै बढाएको उनीहरूको भनाइ छ।

हाल उद्योगीका अनुसार कम्पनीहरूमा १२–१३ हजार मेट्रिक टन ग्यास मौज्दात छ भने करिब ३५० बुलेटमा ग्यास थन्किएको छ। एक बुलेटमा झण्डै १८ मेट्रिक टन ग्यास अटाउँछ।

उता, निगमका प्रवक्ता मनोज ठाकुरले भने बजारको माग घटेकाले आयात पनि घटेको स्पष्ट पारे। अन्तर्राष्ट्रिय परिस्थिति (विशेषगरी पश्चिम एशियाको तनाव) हेरेर निर्णय गर्नुपर्ने भएकाले तत्काल पूर्ण सिलिन्डर प्रणालीमा फर्किन सक्ने अवस्था नरहेको उनले बताए।

ग्यास विक्रेता महासङ्घले भने अहिलेको अवस्था समाधान गर्न पुनः १४.२ केजीकै पूर्ण सिलिन्डर वितरणमा फर्कनुपर्ने माग गरेको छ।

हाल बजारमा करिब १ करोड ४२ लाख ग्यास सिलिन्डर छन्। आधा सिलिन्डरको मूल्य १००५ रुपैयाँ र पूरा सिलिन्डरको मूल्य २०१० रुपैयाँ कायम छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ
2 हप्ता अगाडि

काठमाडौँ । सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउन ...

छुटाउनुभयो कि ?

TOP