काठमाडौं । सर्वोच्च अदालत ले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा निर्वाचन आयोग का नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै आयोगलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
निवेदक किशोरी साह कमलले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै दायर गरेको उत्प्रेषणको रिटमाथि सुनुवाइ गर्दै अदालतले आयोगको निर्णयबारे स्पष्ट कारण माग गरेको हो।
अदालतको आदेशअनुसार आयोगले यसअघि २०८२ फागुन २४ गतेको पत्रमार्फत सम्बन्धित निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको मत परिणाम घोषणा नगर्न निर्देशन दिइसकेको देखिएको छ। त्यसैले हालसम्म उक्त निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक गरिएको छैन।
निवेदकले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका थिए। तर अदालतले विषयको गम्भीरता र संवेदनशीलता विचार गर्दै दुवै पक्षको भनाइ सुनेपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्ने जनाएको छ।
अदालतले आयोगको २०८२ फागुन १८ गतेको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धी सम्पूर्ण फाइल पनि पेश गर्न आदेश दिएको छ।
अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न अदालतले आगामी २०८२ फागुन २९ गतेका लागि पेशी तोकेको छ। सो दिन निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबीच छलफल भएपछि अदालतले थप निर्णय गर्नेछ।
निर्वाचन आयोगले फागुन १८ गते किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। ठेक्कापट्टा व्यवसायसँग सम्बन्धित उजुरीका आधारमा उनी कालोसूचीमा रहेको देखिएपछि आयोगले उक्त निर्णय गरेको जनाएको थियो।
किशोर कन्स्ट्रक्सनसँग सम्बन्धित किशोरीलाल साहलाई २०७९ असोज ३१ र २०८० पुस ६ गते कालोसूचीमा राखिएको विवरण कर्जा सूचना केन्द्रको वेबसाइटमा उल्लेख छ। निर्वाचनको दुई दिनअघि आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो।
धनुषा–१ मा रामचन्द्र मण्डल (नेपाल कम्युनिस्ट पार्टी (एमाले)), राम पलटन साह (नेपाली कांग्रेस) र मातृका प्रसाद यादव (नेपाल कम्युनिस्ट पार्टी (नेकपा)) उम्मेदवार रहेका छन्।
यस क्षेत्रमा मतगणना सम्पन्न भइसके पनि मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन आयोगले हालसम्म आधिकारिक मत परिणाम सार्वजनिक गरेको छैन।
काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!