मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर÷पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो ।

यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् । मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरु मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पूरै गाउँका घरहरुमा ताल्चा मारिएको छ ।

लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ । यहाँस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत÷वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ । केही दिन अघि यहाँस्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुमगन हुन सकेको छैन । रासस

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
9 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP