काठमाडौ ,फागुन १२-नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ। अस्पतालले सोमबार एक प्रतिबद्धता सार्वजनिक गर्दै साम्बाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको हो।
पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बाले केही दिनअघि सामाजिक सञ्जालमार्फत पुनः शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्। उनले उपचारमा करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेपछि खेलकुद क्षेत्रमा व्यापक चर्चा भएको थियो।
यसअघि कतारस्थित Aspetar मा गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसिएल (मेडियल कोलेटरल लिगामेन्ट) मा पुनः समस्या देखिएपछि दोस्रो शल्यक्रिया आवश्यक भएको चिकित्सकहरूले बताएका छन्। यही अवस्थाका कारण साम्बाले सहयोग मागेकी थिइन्।
केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार, साम्बा नेपालमै उपचार गर्न इच्छुक भए अस्पतालले अत्याधुनिक उपकरण र दक्ष चिकित्सक टोलीमार्फत निःशुल्क उपचार सेवा उपलब्ध गराउनेछ। अस्पतालले यसलाई आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको कर्तव्यका रूपमा लिएको जनाएको छ।
नेपाली महिला फुटबलमा साम्बाको योगदान उल्लेखनीय मानिन्छ। उनी लामो समयदेखि राष्ट्रिय टोलीको मुख्य आक्रमणकर्ता रहँदै आएकी छन्। कठिन घडीमा देशभित्रैबाट आएको यो सहयोगले खेलकुद क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।
अब साम्बाको उपचार प्रक्रिया कहिले सुरु हुन्छ र उनी कहिले पुनः मैदान फर्किन्छिन् भन्ने विषयमा खेलप्रेमीहरू प्रतीक्षारत छन्।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!