झापा–५ मा पुराना र नयाँ राजनीतिक शक्तिको प्रतिस्पर्धा

झापा ,माघ १३-झापा–५ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पुराना स्थापित राजनीतिक शक्ति र नयाँ उदाउँदै गरेका शक्तिबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि प्रमुख दलका अनुभवी नेतादेखि नयाँ दलका उम्मेदवारसम्म चुनावी मैदानमा उत्रिएपछि यो क्षेत्र राजनीतिक रूपमा चासोको केन्द्र बनेको हो।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यस्तै, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टीसहित अन्य दलका उम्मेदवारहरू पनि मैदानमा छन्।

एमाले अध्यक्ष ओली झापा–५ बाट योसहित आठौँपटक उम्मेदवार बनेका हुन्। उनी २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालमा विजयी भइसकेका छन्। २०६४ सालमा भने उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए। लामो राजनीतिक अनुभव र संगठनात्मक आधार ओलीको मुख्य शक्ति मानिन्छ।

रास्वपाका उम्मेदवार शाह नयाँ राजनीतिक धारको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिन्छन्। उनी झापा–५ का स्थानीय नभए पनि वैकल्पिक राजनीति र सुशासनको एजेन्डाका कारण युवामाझ उनको चर्चा बढ्दो छ। सामाजिक सञ्जाल र युवा मतदातामाझ उनको प्रभाव विस्तार भइरहेको उनीनिकट स्रोत बताउँछन्।

स्थानीय युवा नेता रञ्जित तामाङलाई भने परिवर्तन, संघीयता र पहिचानको मुद्दामा सक्रिय नेताका रूपमा हेरिएको छ। आदिवासी जनजाति समुदाय र युवापुस्ताबीच उनको समर्थन रहेको बताइन्छ।

स्थानीय तहमा पुराना दलप्रति असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रति चासो बढ्दै गएको देखिन्छ। दमक–५ का स्थानीय गणेशप्रसाद न्यौपाने भन्छन्, “देशको अवस्था हेर्दा परिवर्तन आवश्यक देखिन्छ। त्यसैले मतदाताले विकल्प खोजिरहेका छन्।” तर अर्का स्थानीय हरिप्रसाद चापागाईं भने अनुभव र स्थायित्वलाई प्राथमिकता दिनुपर्ने धारणा राख्छन्।

यस निर्वाचन क्षेत्रमा विभिन्न दलका नेता–कार्यकर्ताको पार्टी परिवर्तनको क्रम पनि देखिएको छ। केही स्थानीय नेता तथा कार्यकर्ताले पुराना दल छाडेर नयाँ दल रोजेको घटनाले चुनावी समीकरणलाई थप रोचक बनाएको छ।

झापा–५ मा यसपटक २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कतिपय उम्मेदवारले घरदैलो तथा प्रचारप्रसार सुरु गरिसकेका छन् भने केही तयारीको चरणमा छन्। यस क्षेत्रभित्र दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा १ देखि ८, तथा गौरीगञ्ज गाउँपालिकाका वडा ३ देखि ६ सम्म पर्दछन्।
यहाँ कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्। तीमध्ये करिब १० हजार नयाँ मतदाता थपिएका छन्। नयाँ मतदाताको भूमिकाले चुनावी नतिजामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

पुराना र नयाँ राजनीतिक शक्तिबीचको यो प्रतिस्पर्धाले झापा–५ को निर्वाचनलाई मात्र होइन, समग्र राष्ट्रिय राजनीतिलाई समेत सन्देश दिने विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

बारामा धारिलो हतियार प्रहार, आमा–छोराको हत्या, बुवासहित तीन घाइते
20 घण्टा अघि

काठमाडौँ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहि ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP