काठमाडौं पुस २२- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जबरजस्ती रूपमा पक्राउ गरेपछि चीनले गम्भीर चिन्ता व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकासँग मादुरो दम्पतीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।
चीनले कुनै सार्वभौम राष्ट्रविरुद्ध बल प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भएको जनाउँदै यसले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्ति र स्थिरतामा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिएको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि देशले आफूलाई विश्वको प्रहरी वा न्यायाधीश ठान्न नहुने बताएका छन् । उनले अमेरिकाको यो कदमलाई ‘एकतर्फी दादागिरी’को संज्ञा दिँदै कुनै देशको इच्छा अर्को देशमाथि थोपर्नु अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तविपरीत भएको उल्लेख गरेका छन् ।
चीनले भेनेजुएलाको सरकारसँगको सहयोग निरन्तर जारी रहने स्पष्ट पार्दै वर्तमान संकटको समाधान सैन्य हस्तक्षेपबाट होइन, वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।
चीन र भेनेजुएलाबीच पछिल्ला दुई दशकदेखि गहिरो रणनीतिक र आर्थिक साझेदारी रहँदै आएको छ । चीन भेनेजुएलाको तेलको प्रमुख खरिदकर्ता हुनुका साथै त्यहाँको सबैभन्दा ठूलो लगानीकर्ता र करदातामध्ये एक हो ।
रुस, इरान र ब्राजिललगायत देशहरूले पनि अमेरिकाको कारबाहीको विरोध गर्दै चीनको धारणा समर्थन गरेका छन् । ती देशहरूले यस कदमले अन्तर्राष्ट्रिय कानुन र सार्वभौमसत्ताको सिद्धान्तलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।
अहिले राष्ट्रपति मादुरोलाई अमेरिकाको न्युयोर्कस्थित एक जेलमा राखिएको छ । उनलाई पहिलोपटक अदालतमा उपस्थित गराइएको बताइएको छ । यस घटनापछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी)मा आपतकालीन बैठकसमेत बोलाइएको छ ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया