मोबाइल एपको जालो फैलाएर १२ करोड ठगी, चिनियाँ नागरिकसहित ११ जना पक्राउ

काठमाडौं पुस २२- मोबाइल एपमार्फत अनलाइन स्क्यामिङ गरी सर्वसाधारणबाट १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले लामो समयदेखि अनुसन्धानपछि उक्त गिरोहलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गिरोहले चितवनको खैरहनीमा ‘एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय स्थापना गरी ‘SMC’ नामक मोबाइल एप सञ्चालन गर्दै ठगी गर्दै आएको थियो । एपमार्फत दैनिक आम्दानी, आकर्षक बोनस र कमिसनको प्रलोभन देखाएर सर्वसाधारणलाई जालमा पारिएको प्रहरीले जनाएको छ । यसरी ७० हजारभन्दा बढी नेपाली नागरिकलाई एपको सञ्जालमा जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम खातुन, प्रिया केसी, मोनिका गुरुङ, गीता गुरुङ, नासिर मिया अन्सारी, सायरा खातुन र राम निवास प्रसाद कलवार रहेका छन् । उनीहरूलाई काठमाडौंका ठमेल, टोखा, तारकेश्वर तथा रुपन्देही र पर्साका विभिन्न स्थानबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म २५५ जनाले सामूहिक उजुरी दिएका छन् । उजुरीका आधारमा ती पीडितबाट कुल १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ बराबरको रकम ठगी भएको देखिएको छ । वास्तविक पीडितको संख्या र ठगी रकम अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।

गिरोहले आफूहरू विश्वप्रसिद्ध फिल्म कम्पनी युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नीसँग सहकार्यमा रहेको झुटो दाबी गर्दै सर्वसाधारणलाई विश्वासमा लिने गरेको खुलेको छ । नयाँ सदस्य भर्ना गरेबापत कमिसन र दैनिक बोनस दिने पिरामिड शैलीको ‘पोन्जी स्किम’ प्रयोग गरी रकम संकलन गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि संगठित अपराध निवारण ऐन तथा मुलुकी अपराध संहिता बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानका क्रममा एप, मोबाइल, डिजिटल उपकरण, बैंक खाता विवरण तथा आर्थिक कारोबारसम्बन्धी कागजातहरू बरामद गरिएको प्रहरीको भनाइ छ ।

साइबर ब्युरोले घरमै बसेर भिडिओ हेरेर पैसा कमाउने, थोरै लगानीमा धेरै आम्दानी हुनेजस्ता लोभलाग्दा विज्ञापनप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, आफ्नो बैंक खाता, एटीएम वा क्युआर कोडजस्ता विवरण अपरिचित व्यक्तिलाई नदिन र ठगीमा परेमा डिजिटल प्रमाणसहित तत्काल प्रहरीमा उजुरी दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP