गुठी प्रशासक शैलेशराज कुवरको कडा अभियान, अतिक्रमणकारी र भूमाफियाको निन्द्रा हराम

काठमाडौं पुष ८-पछिल्लो समय गुठी सस्थान प्रधान कार्यालयले गुठीअन्तर्गतका रीतिरिवाज, संस्कृति, मठ–मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माणका कामलाई तीव्र गतिमा अघि बढाएको छ। साथै, गुठीका जग्गा–जमिन संरक्षण र अतिक्रमित सम्पत्ति फिर्ता गराउन केन्द्र, प्रदेश र स्थानीय सरकार तथा विभिन्न संघ–संस्थासँग समन्वय र छलफललाई तीव्रता दिइएको छ।

गुठी सस्थान प्रमुख प्रशासक शैलेशराज कुवरको नेतृत्वमा संस्थागत कामलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने अभियान अघि बढिरहेको छ। वर्षौंदेखि अल्झिएका गुठीसम्बन्धी मुद्दा तथा प्रशासनिक कामहरू नियमसंगत ढंगले एकपछि अर्को गर्दै टुंग्याइँदै गएका छन्।

देशभर गुठीका समस्या रहे पनि सबैभन्दा बढी चुनौती मधेस प्रदेशमा देखिएको छ। त्यहाँ गुठीका ठूलो परिमाणका जग्गा–जमिन व्यक्तिहरू र संघ–संस्थाले अवैध रूपमा भोगचलन गर्दै आएका छन्। गुठीको सम्पत्ति वर्षौंदेखि प्रयोग गरे पनि गुठीलाई कुनै रकम नतिर्ने, कानुनी प्रक्रियामा आउन गुठीले आग्रह गर्दा उल्टै बदनाम गर्ने र सम्पत्ति हडपेर कब्जा जमाउनेहरूविरुद्ध अब कडा कदम चालिने संकेत गुठी सस्थानले दिएको छ।

प्रशासक कुवरको नेतृत्वमा अतिक्रमित सम्पत्ति फिर्ता गराउने अभियान निर्मम तर कानुनी ढंगले अघि बढाइएको गुठी सस्थानले जनाएको छ। प्रधानमन्त्री, मन्त्री तथा विभिन्न स्थानीय तहका प्रमुखहरूले समेत यो अभियानको खुलेर प्रशंसा गरिरहेका छन्।

यसैबीच, मंगलबार गुठी सस्थान प्रधान कार्यालयमा मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग उच्चस्तरीय छलफल भएको छ। छलफलमा गुठी प्रशासक कुवरले मधेस प्रदेशभित्र अतिक्रमित गुठी सम्पत्ति फिर्ता गराउन प्रदेश सरकारको सहयोग माग गरेका थिए। मुख्यमन्त्री यादवले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मधेस प्रदेशका गुठी जग्गा–जमिन फिर्ता हुने आशा बलियो बनेको छ।

गुठी सस्थानले प्रहरी, प्रशासन, महानगर र नगर प्रहरीसँग समन्वय गरी संयुक्त अपरेसनको तयारीसमेत गरिरहेको जनाएको छ। हालसम्म गुठीका धेरै सम्पत्ति अदालतका आदेशबाट सुरक्षित रहँदै आएका छन्।

प्रशासक शैलेशराज कुवरको दृढ इच्छाशक्तिले निरन्तरता पाए गुठीका हजारौँ बिघा जमिन पुनः गुठीकै स्वामित्वमा फर्किने विश्वास गरिएको छ। मुद्दा माथि मुद्दा हालेर गुठी सम्पत्ति दोहन गर्ने प्रवृत्तिमा समेत पूर्ण विराम लाग्ने संकेत देखिएको छ।

मुख्यमन्त्रीसँग भएको छलफलमा मधेस प्रदेशका विशिष्ट व्यक्ति, गुठी सस्थानका मुख्य कानुन अधिकृत जनक पोखरेल,  इन्जिनियर भीमप्रसाद अधिकारी , अन्य कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

गुठी सस्थानको यो कडा अभियानसँगै गुठी सम्पत्ति लुछिखाने अतिक्रमणकारी र भूमाफियाहरूको निन्द्रा हराम हुने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP