काठमाडौँ पुष ७ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर बयान दिएका छन्।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गरिरहेको आयोगको बोलावटपछि शाह सोमबार आयोगमा उपस्थित भई बयान दिएका हुन्। आयोगस्रोतका अनुसार करिब दुई घन्टा उनीसँग सोधपुछ गरिएको थियो।
आयोगले २३ र २४ गते घटनाक्रमका क्रममा शाह कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरू, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्थापन तथा दमकल समयमा नपुगेको गुनासोलगायत विषयमा प्रश्न सोधेको थियो। शाहले दिएको जवाफ सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले विवरण खुलाएको छैन।
राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा मानव अधिकार हनन र दमनका विषयमा छुट्टै छानबिन गरिरहेको छ। आयोगले हालसम्म १४६ जनासँग बयान लिइसकेको जनाएको छ। छानबिनलाई चार वटा विषयमा विभाजन गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार जेन–जी आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, २३ गतेको आन्दोलनमा प्रहरीको बल प्रयोग, पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनतालाई मुख्य आधार बनाएर छानबिन भइरहेको छ र प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
यता, सरकारले गठन गरेको जाँचबुझ आयोगले पनि घटनामा संलग्न व्यक्तिहरूको बयान लिइरहेको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले सुरुमा तीन महिनाको म्याद पाएकोमा सरकारले हालै थप एक महिना समयावधि बढाएको छ।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया