एक्स्ट्रीम ड्रिङ्कबारे हर्क साम्पाङ आक्रामक

एक्स्ट्रीम ड्रिङ्कबारे हर्क साम्पाङ आक्रामक

काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले काठमाडौं उपत्यकाभर देखिएको एक्स्ट्रीम इनर्जी ड्रिङ्कको व्यापक विज्ञापनबारे संसदमा प्रश्न उठाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै साम्पाङले राजधानीका सडक, चोक, गल्ली तथा सार्वजनिक स्थानहरूमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कका बोर्ड र होर्डिङ अत्यधिक मात्रामा देखिएको भन्दै सरकारसँग जवाफ मागे।

“बाटैभरि एक्स्ट्रीम इनर्जी ड्रिङ्कको बोर्ड छ, काठमाडौं नै किनिसकेको हो कि क्या हो ?” भन्दै उनले प्रश्न गरे। उनले उक्त ब्रान्डको बजार विस्तार र विज्ञापनको पहुँचप्रति आशंका व्यक्त गर्दै “सरकारका मन्त्रीहरूको पनि लगानी छ कि के हो ?” भनेर कटाक्षसमेत गरे।

साम्पाङले कुनै कम्पनीले यति ठूलो मात्रामा विज्ञापन गर्न सक्ने आधार, त्यसको नियमन तथा सरकारी निकायको भूमिकाबारे स्पष्ट पार्न सरकारसँग माग गरे। उनले सार्वजनिक स्थानहरूमा एउटै ब्रान्डको अत्यधिक उपस्थितिले निष्पक्ष प्रतिस्पर्धा र पारदर्शितामाथि प्रश्न उठाएको बताए।

उनको अभिव्यक्तिपछि संसदभित्र र बाहिर उक्त विषय चर्चाको केन्द्र बनेको छ। यद्यपि साम्पाङले उठाएको प्रश्नबारे सरकार वा सम्बन्धित कम्पनीको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

संसदमा उठेको यो विषयले विज्ञापन बजार, निजी क्षेत्रको प्रभाव तथा सार्वजनिक स्थानको प्रयोगसम्बन्धी नीतिमाथि बहस सुरु गराएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP