काठमाडौं । भिजिट भिसाको नाममा विदेश पठाउने ‘सेटिङ’ प्रकरणमा फेरि ठूलो खुलासा भएको छ । यसअघि सरकारी साक्षीको सुविधा पाएका दिपक थापाविरुद्ध नै अब भ्रष्टाचार मुद्दा दर्ता भएपछि घटनाले नयाँ मोड लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मंगलबार विशेष अदालत, काठमाडौंमा दिपक थापाविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ। आयोगका अनुसार, वादी नेपाल सरकार र प्रतिवादी तिर्थराज भट्टराईसमेत रहेको घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका थापाले अदालतमा आयोगमा दिएको बयानविपरीत बकपत्र गरेका थिए।
आयोगले जनाएको छ कि अनुसन्धानका क्रममा दिपक थापालाई सहयोगी भूमिकाका आधारमा सरकारी साक्षी बनाइएको थियो। तर पछि विशेष अदालतमा मिति २०८३ वैशाख १५ गते बयान दिने क्रममा उनले अनुसन्धानका बेला दिएको विवरणभन्दा प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हो।
अनुसन्धानबाट थापा भिजिट भिसामा मानिस विदेश पठाउन ‘सेटिङ’ मिलाउने गिरोहसँग प्रत्यक्ष जोडिएको आरोपसमेत पुष्टि भएको आयोगको दाबी छ। उनी पोखरास्थित DMC Travels Pvt. Ltd. का तत्कालीन मार्केटिङ अफिसर थिए।
अख्तियारका अनुसार उनले विदेश जाने यात्रुहरूको एयरपोर्ट अध्यागमनमा नाम टिपाउने, यात्रु प्रस्थान गर्नुअघि आवश्यक समन्वय गर्ने, होटल बुकिङका कागजात मिलाउने, डलर सटहीका काम व्यवस्थापन गर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएका थिए। अनुसन्धानमा यी काम कम्पनीकै माध्यमबाट हुँदै आएको खुलेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा उनी प्रतिवादी बालकृष्ण खड्काका सहयोगीका रूपमा काम गरेको र राष्ट्रसेवक तिर्थराज भट्टराईसम्म घुस रकम पुर्याउने प्रक्रियामा समेत जोडिएको आरोप लगाइएको छ। आयोगको निष्कर्ष अनुसार उनले गैरकानुनी लाभ प्राप्त गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भूमिका खेलेका थिए।
अख्तियारले दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य कसुरदारसरह सजायको माग गरेको छ। सोही रकम बराबर जरिवाना, कैद र बिगो जफतको मागदाबीसमेत आरोपपत्रमा गरिएको छ।
सरकारी साक्षीकै रूपमा छुट पाएका व्यक्ति पछि फेरि भ्रष्टाचारको आरोपमा मुख्य घेरामा आउनुले भिजिट भिसा सेटिङ काण्ड अझै गहिरो र संगठित रहेको संकेत गरेको छ। अब विशेष अदालतको आगामी सुनुवाइले यो प्रकरणमा थप नयाँ तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!