सडक मानवमुक्त बन्यो गोकर्णेश्वर : मानव सेवा आश्रमसँग १० लाखको सम्झौता

सडक मानवमुक्त बन्यो गोकर्णेश्वर : मानव सेवा आश्रमसँग १० लाखको सम्झौता

काठमाडौं । मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘सडक मानव आश्रितमुक्त नगरपालिका’ घोषणा गरेको छ। सडकमा अलपत्र परेका, असहाय तथा बेसहारा नागरिकको उद्धार, संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाले मानव सेवा आश्रमसँग १० लाख रुपैयाँको सम्झौता गरेको हो।

बिहीबार आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यमनारायण गौलीको रोहवरमा नगर प्रमुख दीपक रिसाल र मानव सेवा आश्रमका तर्फबाट हुमनाथ पौडेल (कृष्ण) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतासँगै आजकै मितिदेखि कार्यक्रम कार्यान्वयनमा लैजाने सहमति समेत भएको छ।

कार्यक्रममा उपप्रमुख, वडाध्यक्षहरू, विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नगरपालिकाका अनुसार मानव सेवा आश्रमसँगको सहकार्य लगातार तेस्रो वर्षमा प्रवेश गरेको छ। यस अवधिमा गोकर्णेश्वर क्षेत्रबाट ७९ जना सडक आश्रित मानवको उद्धार गरी सुरक्षित आश्रय, उपचार तथा पुनःस्थापनाको व्यवस्था गरिएको छ।

नगर प्रमुख दीपक रिसालको नेतृत्वमा नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकलाई प्रत्यक्ष राहत दिने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। नगरभित्र कुनै नागरिक आर्थिक अभावका कारण उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् र कुनै बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने लक्ष्यसहित काम भइरहेको नगरपालिकाले जनाएको छ।

सडकमा भौतारिँदै जीवन बिताउन बाध्य असहाय नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै गरिएको यो पहलले गोकर्णेश्वरलाई मानव सेवामै अग्रणी स्थानीय तहको रूपमा स्थापित गरेको छ। नगरपालिकाले आगामी दिनमा पनि मानव सेवा आश्रमसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता जनाएको छ।

मानवताको संरक्षण राज्यको प्रमुख दायित्व भएको सन्देश दिँदै गोकर्णेश्वर नगरपालिकाले गरेको यो कदमलाई स्थानीयवासीले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अनुकरणीय नमूनाका रूपमा लिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP