चामलमा ११ थरी विषादी भेटिएको दाबी, उपभोक्ता अदालतले उजुरी नै लिएन

चामलमा ११ थरी विषादी भेटिएको दाबी, उपभोक्ता अदालतले उजुरी नै लिएन

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने चामलमा ११ प्रकारका विषादीको अवशेष भेटिएको दाबी गर्दै दायर गरिएको उजुरी उपभोक्ता अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च–नेपालका महासचिव विष्णु प्रसाद तिमिल्सिना ले वैशाख २३ गते दायर गरेको उजुरी अदालत प्रशासनले दर्ता नगरेको हो । उजुरीमा चामलमा प्रयोग गरिएको विषादीका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको दाबी गरिएको थियो ।

उजुरीकर्ताले काठमाडौं उपत्यकामा स्थायी तथा अस्थायी रूपमा बसोवास गर्ने तथा पर्यटकसहित वार्षिक करिब ५० लाख उपभोक्ता विषादीयुक्त चामल उपभोग गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनीहरूले आर्थिक, शारीरिक, मानसिक तथा भौतिक क्षति पुगेको दाबी गर्दै कारोबारमा संलग्न प्रत्येक व्यापारीबाट जनही १ करोड रुपैयाँका दरले कुल ३७ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।
उजुरीमा सहजीकरण गरेका वरिष्ठ अधिवक्ता ज्योती बानियाँ का अनुसार अदालत प्रशासनले दरपीठ गर्ने तयारी गरेको छ । उनले उक्त निर्णयविरुद्ध पुनः निवेदन दर्ता गरिने बताएका छन् ।

उजुरीसँगै पेश गरिएको अध्ययन प्रतिवेदनमा चामलको ८३ प्रतिशत नमूनामा ढुसी नियन्त्रण तथा किरा रोग नियन्त्रणमा प्रयोग हुने विषादीको अवशेष भेटिएको उल्लेख छ । त्यस्तै, ८० प्रतिशत नमूनामा दुई वा सोभन्दा बढी विषादी प्रयोग भएको दाबी गरिएको छ ।

प्रतिवेदनअनुसार चामलमा ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोलजस्ता विषादीको अवशेष भेटिएको छ । साथै एलुमिनियम फस्फाइड र क्लोरपाइरिफोसजस्ता प्रतिबन्धित तथा विषालु रसायन प्रयोग गरिएको दाबी पनि गरिएको छ ।
उजुरीमा बास्मती चामलमा गैर–बास्मती चामलको तुलनामा दोब्बर बढी विषादी भेटिएको उल्लेख गरिएको छ ।

उजुरीमा नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ का अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष टंकप्रसाद शेरचन, महासचिव ओमप्रकाश वंशल, कोषाध्यक्ष नरेशकुमार अग्रवाल तथा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड⁠ लाई विपक्षी बनाइएको छ ।

उजुरीकर्ताले विषादी प्रयोग नभएको स्पष्ट लेबल अनिवार्य गर्न, लेबल नभएका चामलको बिक्री रोक्न तथा नियमित अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्न अदालतबाट आदेश जारी गर्न माग गरेका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
9 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP