काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले झापा दमकस्थित श्री हिमालय माध्यमिक विद्यालयमा व्यापक आर्थिक अनियमितता भएको ठहर गर्दै प्रधानाध्यापक र लेखापालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले आर्थिक वर्ष २०७७/७८ देखि विभिन्न शीर्षकमा रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा नमूना विद्यालय भवन निर्माणमा गम्भीर अनियमितता भेटिएको आयोगले जनाएको छ।
दमक नगरपालिकाबाट गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार पहिलो चरणको कामको लागत करिब ८० लाख ७३ हजार रुपैयाँ रहेको थियो भने दोस्रो चरणमा विद्यालयले आफैं मूल्याङ्कन गर्दा करिब ६७ लाख ७९ हजार रुपैयाँ बराबरको काम भएको देखिएको थियो। यसअनुसार भवन निर्माणको कुल मूल्याङ्कन रकम १ करोड ४८ लाख ५३ हजार रुपैयाँ मात्रै हुनुपर्नेमा विद्यालयले भने २ करोड ७ लाख ७९ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेको पाइएको छ।
यसरी झुट्टा बिल तथा कागजात तयार गरी करिब ५९ लाख २६ हजार रुपैयाँ बढी भुक्तानी गरिएको आयोगको निष्कर्ष छ।
त्यसैगरी, विद्यालयको नगद हिनामिना र व्यक्तिगत प्रयोगसमेत गरी थप रकम दुरुपयोग गरिएको पाइएको छ। समग्रमा दुवै प्रतिवादीले ९३ लाख ८३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना तथा दुरुपयोग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 अन्तर्गतको कसुर ठहर गर्दै आयोगले बिगो असुल, कैद तथा जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक संस्थाको रकम दुरुपयोग गर्ने जो–कसैलाई पनि कानुनी दायरामा ल्याइने र यस्ता घटनामा शून्य सहनशीलता अपनाइनेछ।
काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ । अर्थ मन्त्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!