काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ। फागुन ३० गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुने सम्मेलन ‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ आयोजना गरिएको हो।
सम्मेलनको उद्घाटन आज बिहान ९ बजे तय गरिएको छ। सम्मेलनका क्रममा संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया समेत सञ्चालन हुने आयोजकले जनाएको छ। निर्वाचन आज साँझदेखि भोलि साँझसम्म भौतिक तथा अनलाइन माध्यमबाट हाइब्रिड मोडेलमा सम्पन्न गरिनेछ।
यसपटक ४ हजार २ सय ८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउने तयारी रहेको छ। यद्यपि संघभित्र सर्वसम्मतिको प्रयास समेत भइरहेको आयोजक पक्षले जनाएको छ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर रहेका नेपालीलाई एकताबद्ध गर्दै मातृभूमिको समृद्धिमा योगदान पुर्याउने लक्ष्य राख्दै गतिविधि सञ्चालन गर्दै आएको छ। हालसम्म संघले ९२ देशमा आफ्नो औपचारिक सञ्जाल विस्तार गरेको जनाएको छ।
सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संवैधानिक अधिकार, संयुक्त लगानी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण, महिला र युवा सहभागिता तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा विभिन्न सत्रमार्फत छलफल हुने कार्यक्रम रहेको छ।
सम्मेलन तथा महाधिवेशनका लागि नेपाल सरकारका परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन गरिएको थियो।कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, गैरआवासीय नेपाली अभियन्ता तथा स्वदेशी–विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनको समापन चैत २ गते साँझ ५ बजे प्रधानमन्त्रीबाट गरिने कार्यक्रम रहेको छ। आयोजकले सम्मेलन सफल बनाउन सम्पूर्ण गैरआवासीय नेपाली तथा सञ्चारकर्मीलाई सक्रिय सहयोगका लागि अपिल गरेको छ।
काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!