काठमाडौं। अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरान प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्व गम्भीर युद्धजन्य अवस्थामा प्रवेश गरेको छ।
इरान–इजरायलबीचको प्रत्यक्ष सैन्य टकरावको असर खाडी क्षेत्रसम्म फैलिँदै जाँदा कतार, यूएई, कुवेत, साउदी अरब र बहराइनलगायतका मुलुकहरू विस्फोट, ड्रोन आक्रमण र उच्च सुरक्षा सतर्कतामा पुगेका छन्। यसले खाडी मुलुकमा कार्यरत करिब २० लाख नेपालीको जीवन र सुरक्षामाथि गम्भीर संकट उत्पन्न गरेको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरेको छ। त्यसपछि खाडीका विभिन्न सहरमा विस्फोटका आवाज सुनिएको, ड्रोन खसालिएको र आपत्कालीन उद्धार टोली परिचालन गरिएको विवरण सार्वजनिक भएका छन्।
कतारको राजधानी दोहामा रातको समयमा लगातार विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् भने दुबईको पाम जुमेराह क्षेत्रमा आगलागीको घटना भएको र केही व्यक्ति घाइते भएको पुष्टि गरिएको छ।
कुवेतमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल क्षेत्रमा ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ।
यसअघि कुवेतको अली अल–सालेम एयर बेसलाई लक्षित गरी प्रक्षेपण गरिएका ब्यालेस्टिक मिसाइलहरू हवाई रक्षा प्रणालीले रोकिएको बताइएको छ। रोकथामका क्रममा मिसाइलका अवशेष आसपास खसे पनि ठूलो मानवीय क्षति नभएको कुवेती अधिकारीहरूको भनाइ छ।
बहराइनको राजधानी मनामाका आवासीय क्षेत्रमा पनि आक्रमण भएको जनाउँदै त्यहाँका सुरक्षा निकायले आगो निभाउने र उद्धार कार्य सञ्चालन गरेका छन्।
खाडी क्षेत्रको अवस्था झन् तनावपूर्ण बनेसँगै सम्बन्धित देशका सरकारहरूले आफ्ना नागरिक र त्यहाँ बसोबास गर्ने विदेशीलाई घरभित्रै बस्न, झ्याल तथा खुला स्थानबाट टाढा रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन्। कतार, यूएई र कुवेतका आन्तरिक मन्त्रालयहरूले सामाजिक सञ्जाल र आधिकारिक माध्यममार्फत ‘अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा बाहिर ननिस्कन’ कडा चेतावनी दिएका छन्।
यसैबीच, काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले पनि विशेष ट्राभल एडभाइजरी जारी गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई घरभित्रै बस्न, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र समस्या परेमा सम्बन्धित नेपाली दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ। खाडीका विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूलाई ‘हाई अलर्ट’ मा राखिएको जनाइएको छ।
सरकारी तथा आप्रवासन निकायका तथ्याङ्कअनुसार खाडीका प्रमुख मुलुकहरूमध्ये यूएईमा ६ लाखभन्दा बढी, कतारमा करिब ५ लाख, साउदी अरबमा करिब ४ लाख ५० हजार, कुवेतमा १ लाख २० हजार तथा बहराइन र ओमानमा ५० हजारभन्दा बढी नेपाली कार्यरत छन्।
यसबाहेक इजरायलमा करिब ५ हजार नेपाली केयरगिभर र कृषि क्षेत्रमा कार्यरत छन्। युद्ध चर्किँदै जाँदा विशेषगरी खुला स्थानमा निर्माण कार्य गर्ने, सुरक्षा गार्ड र रात्री सिफ्टमा खटिने नेपालीहरू बढी जोखिममा परेका छन्।
तनावका कारण मध्यपूर्वको हवाई आकाश असुरक्षित बन्दै गएपछि काठमाडौँबाट दोहा, दुबई, रियादलगायतका गन्तव्यतर्फ हुने उडानहरू प्रभावित भएका छन्। उडान रद्द र ढिलाइ हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ यात्रु अलपत्र परेका छन्। बिदामा स्वदेश फर्किन खोज्ने र आपत्कालीन अवस्थामा बाहिरिन चाहने नेपालीहरू थप अन्योलमा परेका छन्।
गैरआवासीय नेपाली सङ्घ र नेपाल पत्रकार महासङ्घका खाडीस्थित शाखाहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै हटलाइन सम्पर्क नम्बर सार्वजनिक गरेका छन्। उनीहरूले स्थानीय सरकार र सुरक्षा निकायबाट जारी आधिकारिक सूचनामात्रै विश्वास गर्न, अपुष्ट हल्लाको पछि नलाग्न र सकेसम्म सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्।
आप्रवासन विज्ञहरूका अनुसार यदि खाडी क्षेत्रमा युद्ध अझ चर्कियो भने यसको प्रभाव नेपाली अर्थतन्त्रमा गम्भीर रूपमा पर्नेछ। नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स आपूर्ति ठप्प हुने मात्र होइन, २० लाखभन्दा बढी नेपालीको सुरक्षित फिर्ती सरकारका लागि ऐतिहासिक चुनौती बन्न सक्ने जोखिम देखिएको छ। यद्यपि नेपाल सरकारले हालसम्म सामूहिक उद्धारसम्बन्धी कुनै ठोस योजना सार्वजनिक गरेको छैन, जसका कारण खाडीमा रहेका नेपाली र स्वदेशमा रहेका उनका परिवार थप चिन्तित बनेका छन्।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!