काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ। स्तरोन्नति भइरहेको १२.२६ किलोमिटर खण्डमा अब तेस्रो अर्थात् अन्तिम तहको कालोपत्र मात्र बाँकी रहेको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डले जनाएको छ। झ्याप्लेखोलाको करिब १०० मिटर खण्डमा समेत दोस्रो तहको कालोपत्र सम्पन्न भइसकेको छ।
तेस्रो तहको कालोपत्र सडक बन्द गरेर गर्नुपर्ने भएकाले निर्वाचनअघि काम अघि बढाउन नसकिएको योजना कार्यालयको भनाइ छ। यही कारण खानीखोलामा निर्माणाधीन अपांगमैत्री आकाशे पुलको काम पनि ढिलाइ भएको छ। परियोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार निर्वाचनका कारण कामदार आवत–जावत प्रभावित हुँदा अन्तिम चरणको काम चैततिर धकेलिने देखिन्छ।
नागढुंगा–नौबिसे पहिलो खण्डको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएको हो। २०७८ चैत २९ मा सम्झौता भए पनि काम २०७९ जेठ २६ बाट मात्र सुरु भएको थियो। पटक–पटक म्याद थपिँदै आएको यस खण्डमा अन्तिम कालोपत्र र आकाशे पुल सम्पन्न हुन अझै समय लाग्ने संकेत देखिएको छ।
उता, नौबिसे–मलेखु खण्ड (४३.५४ किमि) मा प्रगति ५८ प्रतिशत पुगेको छ। करिब साढे २१ किमि सडकमा पहिलो तह र १५ किमिमा दोस्रो तहको कालोपत्र सम्पन्न भइसकेको छ। यस खण्डमा पर्ने १३ पुलमध्ये १० वटाको काम सकिएको छ भने सोप्याङ, फेदी खोला र खहरे खोला पुल निर्माणाधीन छन्। विद्युत्का पोल समयमै नसारिँदा करिब १०० पोल अझै हटाउन बाँकी छ।
सबैभन्दा ठूलो चुनौती भने मलेखु–मुग्लिन खण्डमा देखिएको छ। निर्माण सामग्री अभाव र स्थानीयको विरोधका कारण क्रसर प्लान्टसमेत सञ्चालनमा आउन सकेको छैन। वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भए पनि लामाबगरबाट सामग्री निकाल्न अवरोध हुँदा नुवाकोट र चितवनको जुगेडीबाट ढुवानी गर्नुपरेको छ, जसले कामको गति सुस्त बनाएको छ।
पश्चिम खण्ड प्रमुख सजना अधिकारीका अनुसार पछिल्लो समय मासिक प्रगति ०.५ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ। हाल समग्र प्रगति करिब ४० प्रतिशत रहेको छ। मलेखु–मुग्लिन खण्डको ठेक्का शर्मा–जेडआईसीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा पाएको हो। तोकिएको समयभित्र काम नसकिएपछि म्याद २०८३ असार १५ सम्म थपिएको छ।
नागढुंगादेखि मुग्लिनसम्म ९४.६६ किलोमिटर सडक स्तरोन्नति भइरहेका बेला दैनिक १२ हजारभन्दा बढी सवारीसाधन चल्ने यस मार्गमा ढिलाइले यात्रु र ढुवानी दुवै प्रभावित भइरहेका छन्।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!