फागुन २१ : विवेकको मत, भविष्यको फैसला

फागुन २१ : विवेकको मत, भविष्यको फैसला

फागुन २१ नजिकिँदै जाँदा प्रतिनिधि सभा निर्वाचनको माहोल तातिएको छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्, मतदाताका आँगन–आँगन पुगेर हात जोड्दै छन्। यसबीच निर्वाचन आयोग नेपाल ले आचारसंहिता कडाइका साथ लागू गरिएको जनाएको छ। प्रचार–प्रसारको औपचारिक समयसीमा सोमबारदेखि १८ गते राति १२ बजेसम्म तोकिएको छ, र दलहरू घोषणा पत्रसहित चुनावी सभाको तयारीमा जुटेका छन्।

पटक–पटक जितेर संसद पुगेका अनुहारदेखि नयाँ पुस्ताका आकांक्षी उम्मेदवारसम्म मैदानमा छन्। भोट माग्न पुगेका उम्मेदवारलाई जनताले अब सीधा प्रश्न सोधिरहेका छन्—“तपाईंलाई मत किन दिने?”

यसपटक मतदाताको मनोविज्ञान फरक देखिन्छ। लहर, जात, क्षेत्र वा केवल पार्टीको नामका आधारमा मत हाल्ने प्रवृत्ति कमजोर हुँदै गएको आभास हुन्छ। नागरिकहरू पार्टीभन्दा उम्मेदवारको चरित्र, क्षमता र विगतको कामको मूल्यांकन गर्न इच्छुक देखिन्छन्।

जितेपछि निर्वाचन क्षेत्र नफर्कने, पाँच वर्षसम्म जनताबाट टाढा बस्ने र चुनाव नजिकिँदा मात्र गाउँमा ‘चटक’ देखाउने प्रवृत्तिले मतदातामा अविश्वास जन्माएको छ। त्यसैले आश्वासनका लामा सूचीभन्दा व्यवहारिक योजना र जवाफदेहिताको माग बढेको छ।

निर्वाचन मैदानमा “नयाँ दल” र “पुराना दल” को भाष्य निर्माण गरिएको छ। तर नागरिकको प्रश्न सरल छ—नयाँ होस् वा पुरानो, काम कसले गर्छ? स्थायित्व कसले दिन्छ? पारदर्शिता कसले सुनिश्चित गर्छ?

नियमित कार्यकालअघि भएको राजनीतिक उथलपुथल र ‘जेनजी आन्दोलन’ ले निम्त्याएको यो निर्वाचनले फेरि पनि सत्ता–समिकरणकै खेल दोहोर्याउने हो कि नागरिकमुखी शासनको सुरुवात गर्ने हो भन्ने चासो स्वाभाविक छ।

को प्रधानमन्त्री बन्ला? कसले सरकारको नेतृत्व गर्ला? देशले स्थायित्व पाउला त? नागरिकमाथिको व्यवहारमा परिवर्तन आउला त? यी प्रश्नहरू आज हरेक चिया पसल, हरेक टोल र सामाजिक सञ्जालमा गुञ्जिरहेका छन्।

निर्वाचन स्वस्थ प्रतिस्पर्धा हो—विचार, नीति र दृष्टिकोणको प्रतिस्पर्धा। नागरिकले सरकारलाई साथ र सहयोग दिनुपर्छ, तर सरकारको दायित्व पनि समान दृष्टिकोण राख्दै कसैको पक्षपोषण नगरी सबै नागरिकलाई समान व्यवहार गर्नु हो।

देशले विगतमा राजनीतिक अस्थिरता, अविश्वास र द्वन्द्वका पीडादायी क्षणहरू बेहोरेको छ। फेरि कुनै भदौ २३–२४ जस्ता असहज परिस्थिति नआओस् भन्ने चाहना आम जनताको छ। त्यसका लागि यो निर्वाचन निर्णायक हुन सक्छ।

फागुन २१ केवल मत हाल्ने दिन होइन—देशको दिशा तय गर्ने दिन हो। उत्साहित मतदाता यसपटक गलत उम्मेदवारलाई बिदा गरेर काम गर्ने नेतृत्व छान्ने अठोटमा देखिन्छन्।

फागुन २१ — भाग्य र भविष्यको फैसला।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
10 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP