काठमाडौँ,माघ २ — नेपाली कांग्रेस कुनै समय विचार, त्याग र संघर्षको प्रतीक थियो। तर शेरबहादुर देउबाको लामो नेतृत्वकालले त्यो विरासतलाई क्रमशः खोक्रो बनाउँदै लग्यो। संगठन निष्क्रिय बन्यो, कार्यकर्ता निराश भए र पार्टी केही सीमित व्यक्तिको नियन्त्रणमा सिमित हुन पुग्यो।
कांग्रेस बिस्तारै राजनीतिक कोमामा पुग्यो। आम कार्यकर्तामाझ एउटै प्रश्न गुञ्जिन थाल्यो—कांग्रेस सकिने हो कि देउबा नै सकिने?
समयले अन्ततः स्पष्ट संकेत दियो। कांग्रेस सकिएन, देउबाको युग सकियो। त्यो कुनै षड्यन्त्रको परिणाम थिएन, देउबाको आफ्नै कार्यशैली, निर्णय र अहंकारको परिणाम थियो। लामो समयसम्म पार्टीभित्र गुटबन्दी, डर र आत्मसमर्पणको राजनीति हावी रह्यो। सडकमा कांग्रेस हरायो, विचार हरायो, संगठन थला पर्यो। पार्टी नामको मात्रै रह्यो, आत्मा हराउँदै गयो।
यही अँध्यारो क्षणमा राजनीतिमा साहसिक हस्तक्षेप भयो। गगन कुमार थापा अगाडि आए। जोखिमपूर्ण तर निर्णायक कदम चाल्दै उनले विशेष महाधिवेशनको बाटो रोजे। ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन गर्दै उनले केवल नेतृत्व परिवर्तनको लडाइँ सुरु गरेनन्, कांग्रेसलाई कोमाबाट निकाल्ने ऐतिहासिक प्रयास थाले। यो विद्रोह होइन, पार्टी बचाउने अन्तिम राजनीतिक विकल्प थियो।
विशेष महाधिवेशनमार्फत कांग्रेसलाई कानुनी, राजनीतिक र नैतिक रूपमा पुनःस्थापित गर्ने प्रक्रिया सुरु भइसकेको छ। निर्वाचन आयोगमा प्रक्रिया अगाडि बढिरहेको छ। लालमोहर बाँकी छ, तर कांग्रेसभित्रको राजनीतिक गति रोकिएको छैन। पार्टी अहिले गुटको जञ्जालमा होइन, संगठन विस्तार र पुनर्निर्माणको चरणमा प्रवेश गरिसकेको छ। यसले विगतमा हराएका संरचना, शाख र आधार फर्काउने वातावरण बनाइरहेको छ।
यो परिवर्तन कागजमा सीमित छैन। पार्टीभित्र उत्साह देखिन थालेको छ। लामो समय मौन रहेका कार्यकर्ता फेरि सक्रिय बनेका छन्। जेनेरेशन जेडका युवा कार्यकर्तादेखि अनुभवी नेतासम्म गगन थापाको नेतृत्वलाई खुला रूपमा स्वीकार गर्न थालेका छन्। कांग्रेसमा लामो समयपछि आत्मविश्वास, बहस र ऊर्जा फर्किएको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, यो सामान्य नेतृत्व हेरफेर होइन। गगन थापाले केवल कांग्रेस बचाएका छैनन्, पार्टीप्रति जनविश्वास पुनःस्थापित गर्ने आधार तयार पारेका छन्। देउबाको युगले कांग्रेसलाई थला पार्यो, गगनको नेतृत्वले त्यसलाई उठाउने दिशामा मोडेको छ। यसले समग्र नेपाली राजनीतिमा पनि नयाँ तरंग ल्याएको छ।
अहिले कांग्रेसका कार्यकर्ता घर–घर पुग्ने अभियानमा जुटिरहेका छन्। पार्टी फेरि जनतासँग जोडिन थालेको छ। कार्यकर्ताको मनोबल फर्किएको छ—अब कांग्रेस कमजोर छैन। संगठन विस्तार, विचारको पुनर्निर्माण र जनविश्वास जित्ने संघर्ष सुरु भइसकेको छ।
शेरबहादुर देउबाले कांग्रेसलाई कोमामा पुर्याए। गगन थापाले त्यसलाई कोमाबाट निकाल्ने साहस देखाए। यो केवल व्यक्ति परिवर्तन होइन, युग परिवर्तनको संकेत हो। साहस, दृढता र युवा नेतृत्वले देखाएको छ—राजनीतिमा संकट अन्त्य होइन, अवसर पनि हुन सक्छ। नेपाली कांग्रेस नयाँ मोडमा उभिएको छ, र त्यो मोडको केन्द्रमा गगन थापाको नेतृत्व छ।
काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले पहिल ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!