इक्यानमा सत्ता हस्तान्तरणको संकेत ? अध्यक्षमा दीपक राज भुसालको उम्मेदवारी, पाण्डे–भट्टराई एकै कित्तामा

काठमाडौ पुस २२-नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नेतृत्व परिवर्तन निर्णायक मोडमा पुगेको छ । वर्तमान महासचिव दीपक राज भुसालले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी दर्ता गराएसँगै इक्यानको आगामी निर्वाचन थप रोचक र रणनीतिक बनेको छ । पुस २८ गते हुने निर्वाचनअघि भुसालको उम्मेदवारीलाई संघभित्र ‘गेम चेन्जर’ का रूपमा हेरिएको छ ।

भुसालको उम्मेदवारीलाई इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईले खुलेर समर्थन गरेका छन् । अध्यक्ष पदका उम्मेदवार भुसालको प्रस्तावक स्वयं पाण्डे र समर्थक भट्टराई रहनुले इक्यानभित्र शक्तिशाली नेतृत्व ध्रुवीकरण स्पष्ट देखिएको छ ।

संघका दुई प्रभावशाली पूर्व तथा वर्तमान अध्यक्ष एउटै उम्मेदवारको पक्षमा उभिनुलाई व्यक्तिगत समर्थनभन्दा पनि संस्थागत निरन्तरताको सन्देशका रूपमा विश्लेषण गरिएको छ । पाण्डेको कार्यकाल नीतिगत कडाइ, अनुशासन र पारदर्शिताका लागि चिनिएको थियो भने भट्टराईले चुनौतीपूर्ण परिस्थितिमा पनि संवाद, समावेशिता र सदस्य–केन्द्रित नेतृत्वमार्फत संघलाई स्थिर दिशामा अघि बढाएका थिए ।

यही निरन्तरताको ‘उत्तराधिकारी’ का रूपमा भुसाललाई अघि सारिएको बुझाइ संघभित्र बलियो हुँदै गएको छ । महासचिवको भूमिकामा रहँदै संघको आन्तरिक व्यवस्थापन, सदस्य समन्वय र नीतिगत कार्यान्वयनमा सक्रिय देखिएका भुसाललाई अनुभव र स्वीकार्यताको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ ।

उम्मेदवारी दर्तापछि भुसालले प्रकाश पाण्डे र शेषराज भट्टराईबाट प्राप्त समर्थनलाई ठूलो विश्वास र जिम्मेवारीको रूपमा लिएको बताएका छन् । उनले संघको व्यावसायिक प्रतिष्ठा, पारदर्शिता र सदस्यहरूको हितलाई आफ्नो नेतृत्वको केन्द्रमा राख्ने प्रतिबद्धता जनाएका छन् ।
भुसालका मुख्य एजेन्डामा सदस्य सशक्तिकरण, शैक्षिक परामर्श व्यवसायको मर्यादा र स्तर उकास्ने नीति, सरकार तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय, र आर्थिक पारदर्शिता सुनिश्चितता रहेका छन् ।

यी एजेन्डा र शक्तिशाली समर्थनका कारण इक्यानको आगामी नेतृत्व भुसालतर्फ मोडिने सम्भावना बलियो देखिन थालेको छ । यसले इक्यानभित्र नेतृत्वको निरन्तरता मात्र होइन, संस्थागत स्थायित्व र दीर्घकालीन व्यावसायिक विश्वसनीयताको बहसलाई समेत नयाँ उचाइमा पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP