बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्कामा ३ करोड २७ लाख भ्रष्टाचार, १८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

काठमाडौँ पुस २०— बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माण ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित १८ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार ठेक्का नं. BM/NCB/W/01/077/78 (Construction of Budhiganga Municipality Building) मा प्रतिस्पर्धा साँघुरो पार्ने उद्देश्यले बोलपत्रका मापदण्ड पटक–पटक बदनियतपूर्वक संशोधन गरिएको थियो। भवन निर्माणसँग असम्बन्धित साइट भिजिट अनिवार्य, १६ मिटर हाईमास्ट लाइट र AI क्यामेरा/CCTV जडानको अनुभव जस्ता शर्त थप गरी अधिकांश योग्य बोलपत्रदातालाई प्राविधिक मूल्यांकनमै अयोग्य बनाइएको आयोगको निष्कर्ष छ।

विद्युतीय खरिद प्रणालीमार्फत पेश गरिएको मूल्य प्रस्ताव लागत अनुमानभन्दा ५.०५ प्रतिशत बढी भए पनि, पछि हार्ड कपीमार्फत ७ प्रतिशत छुट देखाइ गैरकानूनी रूपमा मूल्य समायोजन गरी जाग्रिति/एम.के./नेपाल जेभीलाई ठेक्का दिलाइएको पाइएको छ। यसरी न्यूनतम कबोल गर्ने योग्य बोलपत्रदातालाई बाहिर पारेर अधिक कबोलकर्तालाई ठेक्का दिँदा रु. ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ ६५ पैसा बराबरको हानिनोक्सानी भएको आयोगले जनाएको छ।

आयोगका अनुसार उक्त ठेक्का प्रक्रियामा तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, इन्जिनियर, सब–इन्जिनियर, लेखापाल, प्रशासनिक कर्मचारी तथा ठेकेदार कम्पनी जाग्रिति/एम.के./नेपाल जेभी र त्यसका प्रतिनिधिहरूको मिलेमतो देखिएको छ।

महालेखा परीक्षकको प्रतिवेदन, सार्वजनिक खरिद अनुगमन कार्यालयको राय तथा विद्युतीय खरिद प्रणालीका अभिलेखले समेत खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ विपरीत भएको पुष्टि गरेको आयोगको दाबी छ।

आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ सहित सम्बन्धित दफाहरू अन्तर्गत बिगो असुल, कैद र जरिवानाको मागदाबी लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP