पशुपति देवपतन-नेपालको सांस्कृतिक राजधानी मानिने पशुपति क्षेत्रभित्र अवस्थित श्री जयबागेश्वरी मन्दिरमा प्रचलित ‘मकल ताप्ने’ र ‘कोचा फुटाउने’ परम्परा नेपाली सभ्यता, तन्त्र शास्त्र, दर्शन र सामाजिक मनोविज्ञानको अद्भुत तथा मौलिक अभ्यासका रूपमा आज पनि जीवित छ। धर्मलाई केवल कर्मकाण्डमा सीमित गर्ने आधुनिक प्रवृत्तिबीच यो परम्पराले धर्मलाई चेतना, भावना र व्यवहारसँग जोडेर बुझ्ने गहिरो सांस्कृतिक दृष्टिकोण प्रस्तुत गर्छ।
काठमाडौं–८ मा रहेको जयबागेश्वरी मन्दिर पशुपति क्षेत्रका प्रमुख शक्तिपीठहरूमध्ये एक हो। यहाँ प्रत्येक वर्ष नेपाल संवत् ११४६ को पोहेलाथ्व अन्तर्गत पुस शुक्ल द्वादशी र पुस शुक्ल पूर्णिमाका दिन विशेष धार्मिक कर्म गरिन्छ। पशुपति क्षेत्र विकास कोष तथा जयबागेश्वरी भण्डार तलबिलको आयोजनामा सम्पन्न हुने यी कर्म केवल पूजा–अनुष्ठान मात्र नभई सामूहिक सांस्कृतिक चेतनाको अभिव्यक्ति हुन्।
जयबागेश्वरी मन्दिरमा देवीलाई जाडो मौसममा मकलमा आगो बालेर ताप्न दिने परम्परा नेपाली संस्कृतिमा विद्यमान ‘देवतालाई मानवीय भावना सहित व्यवहार गर्ने’ सोचको सशक्त उदाहरण हो। यहाँ देवीलाई ढुङ्गा वा मूर्तिमा सीमित गरिँदैन, बरु ‘जीवित साक्षात् चेतना’ का रूपमा स्वीकार गरिन्छ। यही मान्यताले जाडोमा देवीलाई चिसो नहोस् भन्ने भावनाबाट मकल ताप्ने परम्पराको विकास भएको हो।
यसले भक्त र देवीबीचको सम्बन्धलाई स्वामी–सेवकको दूरीभन्दा बाहिर ल्याएर अभिभावक–सन्तान वा आत्मीय पारिवारिक सम्बन्धमा रूपान्तरण गर्छ। पशुपतिनाथ मन्दिरमा भगवानलाई उष्णोदक स्नान गराइने परम्परा र जयबागेश्वरीमा देवीलाई आगो ताप्न दिने अभ्यासले नेपाली धार्मिक संस्कृतिको संवेदनशील र करुणामय स्वरूपलाई उजागर गर्छ। यहाँ ईश्वर डरको प्रतीक होइन, नजिकको, अपनत्वपूर्ण अस्तित्व हो।
मकल ताप्ने परम्परा प्रकृति र मौसमसँगको तादात्म्य पनि हो। मंसिर शुक्ल चतुर्दशीदेखि पुस शुक्ल पूर्णिमासम्म करिब एक महिनासम्म चल्ने यो अभ्यासले चिसो मौसमको चरम अवस्थालाई संकेत गर्छ। “यथा ब्रह्माण्डे तथा पिण्डे” अर्थात् ब्रह्माण्डमा जे छ, त्यही शरीरमा पनि छ भन्ने दर्शन यसमा व्यवहारिक रूपमा अभिव्यक्त हुन्छ। मानव शरीरलाई जाडो महसुस हुन्छ भने ईश्वरीय चेतनाले पनि त्यसको अनुभूति गर्छ भन्ने विश्वास यस परम्पराको आधार हो।
मन्दिर परिसरमा बालिने आगोले देवी मात्र होइन, दर्शनार्थी भक्तजनलाई समेत न्यानो प्रदान गर्छ। यस अर्थमा यो परम्परा धार्मिक अभ्याससँगै सामाजिक सेवाको स्वरूप पनि हो। कठ्यांग्रिने चिसोमा मन्दिर पुगेका वृद्ध, बालबालिका र सर्वसाधारणका लागि यो आगो राहतको माध्यम बन्छ।
जयबागेश्वरी मन्दिरसँग जोडिएको अर्को महत्वपूर्ण परम्परा ‘कोचा फुटाउने’ हो। हरिसिद्धि सतलको एक कुनामा माटोको गाग्री फुटाउने यो अभ्यास तान्त्रिक र प्रतीकात्मक दुवै दृष्टिले अर्थपूर्ण छ। तन्त्र शास्त्रअनुसार कुनै पनि ठूलो अनुष्ठानको अन्त्यमा नकारात्मक शक्तिलाई निष्क्रिय पार्न ध्वन्यात्मक विस्फोट गरिन्छ। शंख फुक्नु, घण्टी बजाउनु वा भाँडो फुटाउनु यस्तै अभ्यासहरू हुन्।
कोचा फुटाउनु प्राचीन कालमा प्रचलित जीव बलि प्रथाको अहिंसक र सात्विक विकल्पका रूपमा विकसित भएको मानिन्छ। माटोको गाग्री फुट्नु भनेको अहंकार, बाधा र नकारात्मक ऊर्जाको अन्त्यको प्रतीक हो। यसले व्यक्ति र समाजलाई अहं त्यागेर सकारात्मक दिशातर्फ अघि बढ्ने सन्देश दिन्छ।
यस परम्पराको मनोवैज्ञानिक पक्ष पनि गहिरो छ। कुनै ठूलो कार्य सम्पन्न गर्दा सम्भावित विघ्नप्रति मानसिक रूपमा सजग रहन र आत्मविश्वास बढाउन ‘कोचा फुटाउने’ अभ्यासले सामूहिक मनोबल सिर्जना गर्छ। यसले अवचेतन रूपमा बाधा हटिसकेको अनुभूति दिलाउँदै समाजलाई एकताबद्ध बनाउँछ।
जयबागेश्वरी मन्दिरलाई ईंटा र ढुङ्गाले बनेको संरचनाभन्दा पनि चेतना र ऊर्जाको केन्द्रका रूपमा हेरिन्छ। पुस शुक्ल द्वादशी र पूर्णिमाका दिन गरिने होम, पूजा र विसर्जनले एउटा चक्रको पूर्णता जनाउँछ। मौसमअनुसार देवताको सेवा पद्धति परिवर्तन हुनुबाट मानिसले पनि समय, परिस्थिति र आवश्यकताअनुसार आफूलाई ढाल्नुपर्ने जीवनदर्शन सिक्छ।
पशुपतिनाथको उष्णोदक स्नान र जयबागेश्वरीको मकल ताप्ने परम्पराले ईश्वर मानिसको कल्पनाभन्दा बाहिरको डर लाग्दो सत्ता होइन, परिवारकै सदस्यजस्तै आत्मीय हुनुहुन्छ भन्ने भाव स्थापित गर्छ। यी परम्पराले काठमाडौं उपत्यकाको नेवा: संस्कृति, तान्त्रिक परम्परा र सामाजिक चेतनालाई पुस्तौंदेखि जोगाइराखेको छ।
आगो बाल्ने र कोचा फुटाउने जस्ता क्रियाकलापले भक्तको हृदयमा श्रद्धा, समाजमा एकता र जीवनका सम्भावित संकटप्रति सचेत रहने चेतना जागृत गराउँछन्। जयबागेश्वरी माताको यो सेवा पद्धतिले हामीलाई सम्झाउँछ—धर्म किताबमा मात्र लेखिने नियम होइन, यो त मौसम, भावना र आवश्यकता अनुसार गरिने जीवन्त र सचेत अभ्यास हो।
आमा हजुर उमेरले बयानब्बे पुरा समाजमा सँस्कारकाे त सुनाउनु है कुरा। पर्वतकाे जन्म हाे कर्म पर्वतम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!