चुनावी यात्रामा देश : समानुपातिकतर्फ ६१ दल मैदानमा

काठमाडौं पुस १५- राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक प्रतिनिधिसभा निर्वाचनको औपचारिक चरणमा प्रवेश गरेको छ । 

निर्वाचन आयोगका अनुसार यसपटक ६१ राजनीतिक दल समानुपातिक प्रतिस्पर्धामा सहभागी भएका छन्, जुन अघिल्ला निर्वाचनभन्दा बढी हो ।

आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउन समय दिएको थियो । सोमबार राति २ बजेसम्म ५० दलको बन्दसूची दर्ता भएको छ भने बाँकी ११ दलले धरौटी बुझाएर प्रक्रिया पूरा गर्ने क्रममा थिए । २०७९ को निर्वाचनमा ४९ र २०७४ मा ४७ दलले मात्र समानुपातिक प्रतिस्पर्धामा भाग लिएका थिए ।

कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यरातपछि मात्र बन्दसूची बुझाएका थिए भने एमाले र नेकपाले साँझ अबेर आयोगमा नाम दर्ता गराएका थिए । उम्मेदवारी दर्ताका लागि आयोगले रातभर कार्यालय खुला राखेको थियो ।

यसैबीच रास्वपा र उज्यालो पार्टी नेपाल तथा नेकपा र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता भएको छ । एकतापछि उज्यालो पार्टी नेपालले आयोगमा बुझाएको बन्दसूची फिर्ता लिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुने–नहुने भन्ने सबै आशंका अन्त्य भएको बताए । उनले भने, “२१ फागुनमा हुने निर्वाचनका लागि मुलुक स्पष्ट दिशातर्फ अघि बढिसकेको छ ।”

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये १ सय १० सदस्य समानुपातिक प्रणालीबाट चयन हुनेछन् । कानुनअनुसार कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्र सिट पाउने व्यवस्था छ ।

निर्वाचन आयोगले बन्दसूची छानबिन, संशोधन, दाबी–विरोध र अन्तिम प्रकाशनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार अन्तिम बन्दसूची २० माघमा प्रकाशन हुनेछ ।

चुनाव पर्यवेक्षकहरूका अनुसार प्राविधिक तयारी तीव्र रूपमा अघि बढेको भए पनि राजनीतिक वातावरण अझै पूर्ण रूपमा तातिन बाँकी छ । उनीहरूले सुरक्षा, हेट स्पिच नियन्त्रण र निष्पक्ष वातावरण निर्माणमा सरकार र आयोगको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP