उपत्यकाका मेयरसँग प्रधानमन्त्री कार्कीको छलफल : स्थानीय समस्या, सुरक्षा चुनौती र विकास अवरोधबारे सिधा संवाद

काठमाडौँ,मङ्सिर १ — प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ बालुवाटारमा उपत्यकाका मेयरहरूसँग स्थानीय तहले भोगिरहेका समस्या र विकास अवरोधबारे विस्तृत छलफल गरिन् । मेयरहरूले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

मेयरहरूले फोहोर व्यवस्थापन, सडक बत्तीको बक्यौता, जेनजी आन्दोलनपछि बढेको सुरक्षा अस्थिरता र संघीय सरकारले तीन करोडभन्दा कमका योजनामा गरेको कटौतीका कारण विकास रोकिएको गुनासा राखे।

ललितपुरका मेयर चिरिबाबु महर्जनले थुप्रिएको सडक बत्ती बक्यौता रकम तत्काल राफसाफ गर्न आग्रह गर्दै ६०–४० को किस्ताबन्दिमा तिर्ने व्यवस्था गर्न माग गरे।

गोकर्णेश्वरका मेयर दिपक रिसालले नेपाल ट्रस्टको जग्गामा सडक विस्तार रोकिँदा नगरमा यातायात प्रभावित भएको बताए।उनले  फोहोर व्यवस्थापन र पूर्वाधार मर्मतमा संघीय तहको ढिलासुस्तीले जनजीवन प्रभावित भएको भन्दै छिटो निर्णय गर्न आग्रह गरे।

बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले भदौ २४ मा आन्दोलनसँग सम्बन्धित नभएका समूहले घर–घरमा लुटपाट गरेको भन्दै पक्राउ परेकामध्ये केही व्यक्ति छुट्न थालेकोमा चिन्ता व्यक्त गरे।

टोखाका मेयर  प्रकाश अधिकारीले टोखा–छहरे सडक विस्तारका लागि मुआब्जा निर्णय गर्न सरकारलाई आग्रह गरे।

कीर्तिपुर नगरप्रमुखले त्रिभुवन विश्वविद्यालयको जग्गामा बसपार्क, अस्पताल र प्रशासनिक भवन सञ्चालनका लागि संघीय स्वीकृति आवश्यक रहेको बताए।

चाँगुनारायण नगरप्रमुखले सल्लाघारी–कमलविनायक–नगरकोट सडक छिटो निर्माण गरिदिन अनुरोध गरे।

प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको बताउँदै मेयरहरूले उठाएका विषयहरूको सम्भव समाधान खोजिने आश्वासन दिइन्।“चुनाव गर, अरु काम नगर भन्ने आवाज पनि छ,” उनले भनिन्, “तपाईंहरूले राखेका समस्यामा कति गर्न सकिन्छ, हेरौँला। समाधान मिलेर नै खोज्नुपर्छ।”

प्रधानमन्त्रीले युवामा बढ्दो असन्तुष्टिलाई उल्लेख गर्दै देश बनाउने जिम्मेवारी सबैको साझा भएको बताइन्।
“समाज बिग्रियो भने पनि बनाउने हामीले नै हौँ। कोही आएर बनाइदेला भनेर बस्न मिल्दैन,” उनले भनिन्।

आजको छलफललाई स्थानीय तहका अवरुद्ध विकास कार्य अगाडि बढाउन सहयोगी कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP