पशुपति क्षेत्रमा सुरु भयो ऐतिहासिक श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ

काठमाडौं, साउन १ – धार्मिक आस्था, संस्कार र भक्तिभावको संगमस्थल श्री पशुपति क्षेत्रमा आजदेखि ऐतिहासिक श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सुरु भएको छ। बनकालिमा निर्माण गरिएको विशाल पन्डालबाट पाँचकन्याको संयुक्त दीप प्रज्वलनमार्फत महायज्ञको समुद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख वाचक शीतल कृष्ण महाराज रहनु भएको छ। महायज्ञको उद्घाटन समारोहमा धार्मिक गुरु, सन्त, विशिष्ट व्यक्तित्वहरू, राष्ट्रिय कलाकार, राजनीतिज्ञ, समाजसेवी, सञ्चारकर्मीहरू तथा बाक्लो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महायज्ञ मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष तथा संयोजक विजयकृष्ण मूर्ति महाराजको संकल्पमा आयोजना गरिएको हो। साउन १ गतेदेखि सुरु भएको यो कार्यक्रम भदौ २१ गतेसम्म जारी रहनेछ। यस अवधिमा विविध आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू गरिने आयोजकले जानकारी दिएको छ।

विशेषतः साउन–भदौ महिनामा पशुपति क्षेत्रमा भक्तजनको ठूलो संख्यामा आगमन हुने परम्परालाई ध्यानमा राखी महायज्ञको आयोजना गरिएको हो। आयोजकका अनुसार लाखौं भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। पशुपति कोटिहोमपछि गण्डकी कोटिहोम अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएपछि फेरि पशुपतिमा आयोजना भएको यस विराट ज्ञान महायज्ञले देश–विदेशबाट समेत व्यापक चासो पाएको छ।

महायज्ञको सञ्चालनका लागि सयौं गुरु, हजारौं स्वयंसेवक परिचालन गरिएको छ। साथै, हम्स मण्डप, पार्किङ छेउ, चौसट्ठीरुद्रागारेश्वर क्षेत्रमा अत्याधुनिक र आकर्षक पन्डालहरू निर्माण गरिएको छ, जसले पशुपति क्षेत्रलाई दुलहीझैं सजाएको छ।

आजको समुद्घाटन कार्यक्रममा सहभागी भक्तजनले रमाइलो दृश्यको फोटा, भिडियो खिची सामाजिक सञ्जालमार्फत उत्साहपूर्वक आफ्नो सहभागिता व्यक्त गरेका छन्।

विभिन्न धार्मिक संघ–संस्थाले समेत आ–आफ्नो ढंगमा कार्यक्रमहरू आयोजना गरेका छन्, जसले सम्पूर्ण पशुपति क्षेत्रलाई धार्मिक र सांस्कृतिक ऊर्जा प्रदान गरेको छ।

कार्यक्रम छोरी घरमामाघर स्थायी भवन निर्माण सहयोगार्थ आयोजना गरिएको हो। संयोजक विजयकृष्ण मूर्ति महाराजले सम्पूर्ण श्रद्धालु भक्तजन, साधक र सहयोगी मनहरूलाई महायज्ञमा सहभागी भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गर्नुभएको छ।

कार्यक्रम हरेक बिहान ७ बजेदेखि सुरु हुने जनाइएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP