बैकुण्ठ बा अब हामीबीच रहनुभएन।
तर उहाँको अनुहार, उहाँको बोली, उहाँको माया, उहाँको सपना...
सबै हिजोजस्तै ताजै छन्।
जति सम्झन्छौं, उति चसक्क दुख्छ।
उहाँ जस्ता व्यक्तिहरू बिरलै जन्मिन्छन्,
अझ बिरलै बिदा हुन्छन् यत्तिकै चुपचाप।
पहाडमा जन्मिएका बैकुण्ठनाथ दहाल,
जीवनको यात्राले उनलाई उदयपुर गाइघाटसम्म ल्यायो।
शरीरले पहाड छाडे पनि,
मन पहाड र तराई दुवैको माटोसँग बाँधिएको थियो।
गाइघाटको हावापानी, ती गल्लीहरू,
जनताको नमस्कार, चिया पसलको गफ,
सबैमा उहाँको आत्मा मिसिएको थियो।
त्यही माटोमा उहाँले सपना देख्नुभयो, संघर्ष गर्नुभयो,
र जनताको बीचमा आफैँलाई सधैं सामान्य मानेर बाँच्नुभयो।
२०११ सालमा जन्मनुभएका बैकुण्ठनाथ दहाल
२०२७ सालदेखि नेपाली राजनीतिमा होमिनुभयो।
उहाँको राजनीति पद र प्रचारको लागि होइन,
समानताको सपना र न्यायको आवाजका लागि थियो।
सुनिने ठाउँमा जो बोल्दैन,
उनीहरूको लागि बोल्ने मान्छे हुनुहुन्थ्यो बैकुण्ठ बा।
उहाँले आफ्नो जीवनको धेरै हिस्सा जेलमा बिताउनुभयो।
विवाह गरेलगत्तै थुनिनुभयो।
पटकपटक प्रहरीको कुटाइ, भोक, अपमान अनि चिसो भुइँमै रात बिताउनुपर्यो।
तर उहाँ कहिल्यै गुनासो गर्नुभएन।
उहाँ सधैं भन्नुहुन्थ्यो,
"यो देशले एक दिन सबै नागरिकलाई समान बनाउनेछ।"
उता घरमा उषा दहाल थिइन्।
श्रीमान् जेलमा, चार छोरी र दुई छोरा काखमा।
आँसु लुकाएर मुस्कान बनाउँदै, पीडा भुलेर भरोसा बोकेर
घर, खेत, समाज अनि सपनासमेत सम्हाल्ने एउटी महिला।
शब्दले बयान गर्न नसकिने त्यो संघर्ष
उनीहरूको जीवनको एउटा अध्याय मात्रै थियो।
बैकुण्ठ बा पत्रकार पनि हुनुहुन्थ्यो।
कानुन बुझ्ने मान्छे पनि।
तर उहाँ सबैभन्दा पहिले इमानदार नेपाली हुनुहुन्थ्यो।
हामी रेड मिडियाको टोली उहाँको गाइघाट घर पुग्थ्यौं।
कहिलेकाहीँ अन्तर्वार्ता गर्न, कहिलेकाहीँ चिया खान,
तर प्रायः उहाँसँग केही समय बिताउन।
उहाँ हाम्रा लागि घरजस्तै हुनुहुन्थ्यो।
आमा जस्तै माया गर्नुहुन्थ्यो, बाबुजस्तै सम्झाउनुहुन्थ्यो।
उहाँको मनमा सधैं दुई मान्छे बस्थे—
पत्रकार भरत खड्का र एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा।
भरतलाई "महासंघको कोशीको अध्यक्ष बनाउनुपर्छ" भनेर धेरैपटक भन्नुहुन्थ्यो।आखिर बन्नु भो,त्यसबेला भरत खड्का भन्दा धेरै खुशि उहाँ हुनुहुन्थ्यो ।भरत खड्का पनि बैकुण्ठ बालाइ आफ्नो अभिभावक सम्झनु हुदोरहिछ।
घनश्यामजीलाई "यो युगको इमानदार नेता, जिउँदो मदन भण्डारी" भन्नुहुन्थ्यो।
उहाँको त्यो माया, त्यो विश्वास, त्यो दृष्टि आज पनि हाम्रा कानमा गुञ्जिरहेको छ।
काठमाडौंको पछिल्लो भेटपछि अन्तरबार्ता पनि गर्यौ हामीले ।उहाँले भन्नु भएको थियो,
"अब फेरि भेटौँला, तपाईंहरूले बोलाउनु है…"
त्यो भेट अन्तिम बन्यो भनेर हामीले सोच्न सकेका छैनौं ।
अहिले उहाँको सम्झनामा टोलाउँदा,
फेसबुकका वालहरूमा श्रद्धाञ्जलीका तस्बिर हेर्दा
हामीभित्र धेरै कुरा भत्किएजस्तो लाग्छ।
उहाँले कहिल्यै पुरस्कार माग्नुभएन,
तर उहाँको योगदानले हजारौंलाई हौसला दियो।
उहाँले कहिल्यै नेतृत्वको कुर्सी खोज्नुभएन,
तर उहाँले इमानदारीको गहिरो उदाहरण छोड्नुभयो।
बैकुण्ठ बा गइहाले।
शरीर अब छैन,
तर उहाँका बोली, विचार, सम्झना, र सपना हामीसँगै छन्।
उहाँ अब पुस्तकमा पढिने पात्र मात्र होइन,
हाम्रो मनमा बस्ने अनुभव बन्नु भएको छ।
आज हामीले एउटा असल नेपाली गुमाएका छौं।
तर हामी उहाँका बाटोमा हिँड्यौं भने,
उहाँ जस्तै सत्य बोल्ने,
न्यायको पक्षमा उभिने,
र असल सोच बोकेर बाँच्ने संकल्प गर्यौं भने,
बैकुण्ठ बा सधैँ हाम्रो भित्र बाँचिरहनुहुनेछ।
शतशः श्रद्धाञ्जली बैकुण्ठनाथ दहाल।
तपाईं गइहाल्नुभयो, तर तपाईंको छायाँ कहिल्यै मेटिने छैन।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया