भिजिट भिसामा पुरानै व्यवस्था फर्काउन दलाल सक्रिय ? अध्यागमन महानिर्देशकको आरोप

भिजिट भिसामा पुरानै व्यवस्था फर्काउन दलाल सक्रिय ? अध्यागमन महानिर्देशकको आरोप

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने नागरिकलाई अनावश्यक रूपमा रोक्ने पुरानै व्यवस्था पुनः लागू गराउन केही दलाल समूह सक्रिय भएको दाबी गरेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले कागजपत्र पुगेका नागरिकलाई विदेश भ्रमणमा नरोक्ने हालको मापदण्डविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको बताए।

उनले नेपाली नागरिक विदेश जान योग्य छ वा छैन भनेर व्यक्तिको धारणा (सब्जेक्टिभ) का आधारमा निर्णय गर्ने पुरानो अभ्यास पुनः स्थापित गर्न खोजिएको आरोप लगाए। उनका अनुसार भिजिट भिसा सहज बनाएपछि महिलाहरू विदेशमा बेचिने क्रम बढेको भन्ने भाष्य निर्माण गरेर पुरानो व्यवस्था फर्काउने प्रयास भइरहेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मापदण्ड सहजीकरणपछि भिजिट भिसामा विदेश जाने महिलाको संख्या विगतको तुलनामा घटेको छ। साथै, नयाँ व्यवस्था लागू हुनुअघि र पछि भिजिट भिसामा विदेश जानेको कुल संख्या पनि लगभग उस्तै रहेको विभागको दाबी छ।
गत वर्ष कात्तिकदेखि सरकारले आवश्यक कागजात पुगेका नागरिकलाई विदेश भ्रमणमा नरोक्ने मापदण्ड लागू गरेको थियो। त्यसअघि भिजिट भिसामा यात्रा गर्न दुईतर्फी हवाई टिकट, होटल बुकिङलगायत विभिन्न कागजात अनिवार्य गरिन्थ्यो।

भिजिट भिसाको नाममा संगठित असुली भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरेपछि सरकारले पुरानो मापदण्ड खारेज गरेको थियो। त्यसपछि शंकाकै आधारमा यात्रुलाई रोक्ने अभ्यास अन्त्य गरिएको थियो।

अध्यागमन विभागका अधिकारीहरूका अनुसार पुरानो व्यवस्थाबाट लाभ लिने समूहहरू पुनः सक्रिय भएर भिजिट भिसामा विदेश जाने नागरिकमाथि कडाइ गर्न दबाब सिर्जना गरिरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, फूलपाती भित्र्याइँदै
1 हप्ता अगाडि

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज देशभरका दुर्गा मन्दिर तथा दसैँ घरमा नवदुर्गामध्येक ...

छुटाउनुभयो कि ?

TOP