चर्चामा
काठमाडौं । बडादसैँको सातौँ दिन आज महासप्तमीका अवसरमा देशभर फूलपाती भित्र्याइँदै छ। देवी दुर्गाको आराधना गर्दै विभिन्न पवित्र वनस्पति घर, मन्दिर तथा दसैँघरमा भित्र्याउने परम्परा छ।
फूलपातीको विशेष आकर्षण गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने ऐतिहासिक परम्परा हो। गोरखाबाट ल्याइएको फूलपाती जमल हुँदै बाजागाजा, सैनिक टुकडी र सांस्कृतिक झाँकीसहित हनुमानढोका पुर्याइन्छ।
हनुमानढोका दरबारमा गोरखाबाट फूलपाती ल्याउने परम्परा नेपालको इतिहाससँग जोडिएको छ। ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरी गोरखा र काठमाडौंलाई एकीकरणको प्रक्रियामा जोडेसँगै यो परम्पराले निरन्तरता पाएको मानिन्छ।
फूलपातीमा केरा, दारिम, धानको बाला, बेसार, बेलपत्र, अशोक र जयन्तीलगायत विभिन्न वनस्पति समावेश गरिन्छ। यी वनस्पतिलाई नवदुर्गाका विभिन्न स्वरूपको प्रतीक मानेर पूजा गर्ने धार्मिक विश्वास छ।
ऐतिहासिक रूपमा मल्लकालदेखि नै हनुमानढोका दरबारमा तलेजु भवानीलाई प्रसन्न पार्न र राज्यको कल्याणको कामना गर्दै गोरखाबाट फूलपाती ल्याउने परम्परा सुरु भएको मानिन्छ।
पौराणिक कथानुसार, असुरहरूको संहार गर्न देवी दुर्गालाई थप शक्ति प्राप्त भएको दिन तथा असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ। राजतन्त्रको समयमा राजा वा राज्यका प्रतिनिधिहरूको उपस्थितिमा नेपाली सेनाले सलामी गारद अर्पण गरेर यो विधि सम्पन्न गर्ने गरिन्थ्यो, जुन परम्परा गणतन्त्रमा पनि निरन्तर जारी छ।
फूलपाती भित्र्याएर देवी भगवतीको पूजा गर्दा परिवारमा सुख, शान्ति, समृद्धि र कल्याण प्राप्त हुने धार्मिक मान्यता छ। फूलपातीसँगै दसैँको चहलपहल थप बढ्ने र घरघरमा पर्वको उल्लास छाउने गर्छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!