गोली, आक्रोश र परिवर्तन : जेनजी आन्दोलनको त्यो दिन, जसले बदल्यो नेपालको राजनीति

गोली, आक्रोश र परिवर्तन : जेनजी आन्दोलनको त्यो दिन, जसले बदल्यो नेपालको राजनीति

काठमाडौँ । सुशासनको माग र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध माइतीघरबाट सुरु भएको जेनजी आन्दोलनले नेपालमा नयाँ राजनीतिक तरङ्ग ल्याएको एक वर्ष पूरा भएको छ। स्वतःस्फूर्त रूपमा सुरु भएको भदौ २३ गतेको प्रदर्शनले अन्ततः नेपाली राजनीतिमा ठूलो परिवर्तनको आधार तयार गर्‍यो।

हजारौँ विद्यार्थी तथा युवा माइतीघरदेखि नयाँ बानेश्वरतर्फ अघि बढ्दै भ्रष्टाचार, राजनीतिक जवाफदेहिता र अवसरको अभावविरुद्ध आवाज उठाइरहेका थिए। दलका झण्डाभन्दा फरक, युवाका माग र नाराले भरिएको त्यो दिन माइतीघर–बानेश्वर सडक असाधारण देखिन्थ्यो।

नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शनकारीलाई रोक्न ब्यारिकेड लगाएको थियो। प्रदर्शनकारीको भीड बढ्दै गएपछि ब्यारिकेड ढल्यो र सुरक्षाकर्मीले पानीको फोहोरा तथा अश्रुग्यास प्रयोग गरे।

स्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मीले गोली चलाउन थाले। गोली र अश्रुग्यासका कारण प्रदर्शनकारीहरू घाइते हुन थाले भने बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो। यसैबीच काठमाडौँ प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सञ्चार अवरुद्ध भएकाले घटनास्थलमा रहेका धेरै प्रदर्शनकारी त्यसबारे अनभिज्ञ थिए।

दिउँसोदेखि घाइते र मृतकलाई अस्पताल पुर्‍याउन थालियो। परिवारका सदस्यहरू आफ्ना आफन्त खोज्दै अस्पताल पुगे। पहिलो दिन काठमाडौँमा १७ जनाको मृत्यु भएको र सयौँ घाइते भएको रिपोर्ट सार्वजनिक भयो।

एक वर्षपछि त्यो आन्दोलन केवल एउटा प्रदर्शनको घटनामा सीमित छैन। सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध उठेको आवाज भ्रष्टाचार, सुशासन, राजनीतिक जवाफदेहिता र युवाको भविष्यसँग जोडिएको व्यापक असन्तुष्टिको अभिव्यक्ति बन्यो।

भदौ २३ गतेलाई अहिले ‘जेनजी सहिद दिवस’का रूपमा स्मरण गरिँदैछ। आन्दोलनले उठाएका प्रश्नको जवाफ र त्यसबाट अपेक्षित परिवर्तन व्यवहारमा कति देखियो भन्ने बहस भने अझै जारी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP