ग्यासको अभावले कक्षाकोठा छाडेर सडकको लाइनमा बालक

ग्यासको अभावले कक्षाकोठा छाडेर सडकको लाइनमा बालक

काठमाडौँ । सामान्य दिनमा कक्षा ५ मा पढ्ने मनिष बस्नेत यतिबेला विद्यालयको कक्षाकोठामा हुनुपर्ने हो । तर, घरमा खाना पकाउने ग्यास सकिएपछि उनी शनिबारदेखि विद्यालय छाडेर ग्यासको लाइनमा बस्न बाध्य भएका छन् ।

काठमाडौँको एक साँघुरो गल्लीमा सयौँ खाली एलपीजी सिलिन्डर लाइनमा राखिएका छन् । सिलिन्डरहरूलाई सिक्री र ताल्चाले बाँधेर उपभोक्ताहरू आफ्नो पालो जोगाउन बाध्य छन् । त्यही लाइनमा मनिष पनि आफ्नो परिवारका लागि ग्यास आउने प्रतीक्षामा छन् ।

‘ग्यास छैन । ग्यास पाएन । ग्यास छैन भनेकाले स्कुल नि जान पाएन,’ मनिषले भने ।

उनका अनुसार शनिबारदेखि लाइनमा बसे पनि अहिलेसम्म ग्यास पाएका छैनन् । डिपोबाट मंगलबारसम्म ग्यास आउने भनिएपछि उनी लाइन छाड्न नसकेको बताउँछन् ।

‘अब ग्यास आएन भने मेरो ग्यासको पछाडिको मान्छेले आफ्नो अगाडि लान्छन्,’ उनले भने ।

मनिषका आमाबुबा ज्यालामजदुरी तथा अन्य काममा जानुपर्ने भएकाले घरको ग्यास ल्याउने जिम्मेवारी उनीमाथि परेको हो । सुरुमा एक दिन विद्यालयबाट बिदा लिएर लाइनमा बसेका उनीको विद्यालयमा अनुपस्थित हुने दिन थपिँदै गएको छ ।

ग्यासको प्रतीक्षामा बस्दा उनको पढाइसमेत प्रभावित भएको छ । विद्यालयमा शिक्षकले दिएका कक्षा कार्य तथा गृहकार्य छुटिरहेका छन् ।

यसबीच सरकारी अधिकारीहरूले बजारमा ग्यासको अभाव नरहेको र केही दिनमै अवस्था सामान्य हुने बताउँदै आएका छन् । तर, सडकमा देखिएको दृश्य भने फरक छ । उपभोक्ताहरू घण्टौँ तथा दिनौँसम्म सिलिन्डर लिएर लाइनमा बसिरहेका छन् ।

ग्यासको अभावका कारण बालबालिकासमेत सडकमा लाइन बस्नुपर्ने अवस्था देखिएको छ । खाना पकाउनेजस्तो आधारभूत आवश्यकताका लागि विद्यालय जाने उमेरका बालबालिकाले पढाइ छाडेर लाइनमा बस्नुपर्ने बाध्यताले आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।

मनिषका लागि ग्यासको एउटा सिलिन्डर पर्खाइ सामान्य घटना नहुन सक्छ । तर, यो घटनाले अभावको प्रत्यक्ष मारमा सर्वसाधारण मात्र होइन, बालबालिकाको शिक्षा र दैनिक जीवनसमेत परेको देखाएको छ ।

सरकारले ग्यास आपूर्ति सहज बनाउने दाबी गरिरहँदा उपभोक्ताहरू भने कहिले सिलिन्डर हात पर्ला भन्ने अन्योलमा छन् । ग्यासको अभाव तत्काल समाधान नभए विद्यालय जाने उमेरका बालबालिकाको पढाइमा समेत यसको थप असर पर्ने देखिन्छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP