ठमेलमा लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य र्‍यालीसहित मनाइयो

ठमेलमा लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य र्‍यालीसहित मनाइयो

काठमाडौ ।लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८३ को अवसरमा काठमाडौंको ठमेल क्षेत्रमा बिहीबार भव्य जनचेतनामूलक र्‍याली आयोजना गरिएको छ।

काठमाडौं महानगर प्रहरी बलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी, ठमेल पर्यटन विकास समिति, सामुदायिक प्रहरी ठमेल, सामुदायिक सेवा केन्द्र, नेपाल स्काउट, काठमाडौं महानगरपालिका वडा नं. १६, १७, २६ र २७ का जनप्रतिनिधि, वडा नं. १७ को विपद् उद्धार टोली, नेपाल रेडक्रसलगायत विभिन्न संघसंस्था तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।

कर्मचारी सञ्चयकोषस्थित त्रिदेवी मार्गबाट सुरु भएको र्‍यालीले ठमेलका विभिन्न क्षेत्रको परिक्रमा गर्दै लागुऔषध दुरुपयोग नियन्त्रण, अवैध ओसारपसार न्यूनीकरण तथा समाजमा जनचेतना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरेको थियो।

र्‍याली पुनः त्रिदेवी मार्गस्थित प्रारम्भिक स्थलमै पुगेर समापन भएको थियो। कार्यक्रममा सहभागीहरूले लागुऔषधमुक्त समाज निर्माणका लागि राज्यका निकाय, स्थानीय समुदाय र युवावर्गबीच सहकार्य तथा सचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिएका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले समाजमा बढ्दो लागुऔषध प्रयोग र त्यसबाट उत्पन्न हुने सामाजिक समस्याविरुद्ध सामूहिक सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP